| शनिबार, बैशाख ८, २०८१

सुत्केरीलाई माइतीको कोशेली लोकप्रिय कार्यक्रम

मनमोहन अधिकारी प्रधानमन्त्री छँदा ७५ बर्ष कटेका ज्येष्ठ नागरिकलाई मासिक एकसय रुपैयाँ भत्ता दिने घोषणा गरे । वृद्धभत्ताको यो कार्यक्रम धेरै लोकप्रिय बन्यो । पछि अपांग, लोपोन्मुख समुदायलाई पनि यो खालको भत्ता दिने गरियो ।

वृद्धभत्ता पाउने वृद्धवृद्धाहरु यति खुशी भए कि चुनावमा पनि वृद्धभत्ता बाँड्ने पार्टीलाई भोट दिने हौँ भनेर खुल्लमखुल्ला भन्न थाले । भलै सबैको हकमा यो लागु नहुनसक्छ, तर प्राय वृद्धभत्ताकै कारण सो भत्ता बाँड्न सुरु गर्ने पार्टीप्रति धेरै नै खुशी भए । अवसर पाए भने यस्ता लोकप्रिय कार्यक्रम ल्याउन अरुले पनि सक्छन् भन्ने उदाहरण अहिलेका स्थानीय सरकाले प्रदर्शन गरिरहेका छन् ।

अजीरकोट गाउँपालिकाले गर्भवती र सुत्केरी महिलालाई माइतीको कोशेली, पोषिलो झोला कार्यक्रम लागु गरेको छ । गत असार १० गतेको बर्खे गाउँसभामा प्रस्ताव पारित गरी सो कार्यक्रम लागु गरेको हो । प्रशुतीपूर्वको स्वास्थ्य परीक्षण गराउन चार पटक नियमित आउँदा चारैपटकसम्म चना, केराऊ, अण्डा, तेल, नून, जुवानो, मेथी, न्यानो पछ्यौरा, व्यक्गित स्वास्थ्यका सामग्रीले भरिएको झोला दिने प्रचलन गाउँपालिमामा छ । साथै गाउँपालिकाले दुईहजार आठसय रुपैयाँका दरले खर्च पनि प्रदान गर्ने गर्छ ।

यो कार्यक्रम पनि गाउँपालिकाको लोकप्रिय कार्यक्रम हो । यस्ता खालका कार्यक्रम लागु गर्दा एक त गर्भवतीहरु स्वस्थ्य हुन्छन् । नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने वातावरण बन्छ । प्रशुती गराउने सीप, साधन र स्रोतले भरिपूर्ण प्रशुतीकेन्द्रमा बच्चा जन्माउने क्रम वृद्धि हुन्छ र बच्चा कुपोषित हुने क्रम पनि न्यूनिकरण हुन्छ ।
यस खालका कार्यक्रम अन्य गाउँपालिका, नगरपालिकाले पनि देखासिकी गर्दा बेश हुन्छ ।

प्रतिक्रिया दिनुहोस्