| शनिबार, बैशाख ८, २०८१

जैसिङ चुमीलाई शहीद घोषणा गर्ने आवाज बुलन्द गरौं

गोरखा बिभिन्न कोणबाट महत्वपूर्ण छ । विशेषगरी इतिहासको दृष्टिकोणले गोरखाको जति महत्व छ, अन्य जिल्लाको कम छ । नेपालको जग हालेको गोरखाबाटै हो । एकीकरण सुरु भएको गोरखाबाटै हो । निरङ्कुश राणा शासकको सुत्रपात गर्ने जङ्गबहादुरको अन्त्य गर्ने अभियान सुरु भएको पनि गोरखाबाटै हो ।
नेपालको इतिहास अध्ययन गर्नेलाई गज्जवको बिषय छ गोरखामा । यहाँका डाँडाडाँडा, थुम्काथुम्का, कोटकोटमामा इतिहास बोल्छ ।
प्रथम शहीद लखन थापाको स्मृति दिवस आजै परेको छ । यो स्मरणमा आयोजित सभालाई सम्बोधन गर्न सत्ता सम्हालेको पार्टी नेकपा सञ्चालन गर्ने अध्यक्ष प्रचण्ड बुंकोटको काउलेभँगारमा आउँदैछन् ।
उनै लखन थापा हुन्, जसलाई २०५६ सालमा शहीद घोषणा गरियो, २०७२, असोज ३ गते प्रथम शहीद घोषणा गरियो । उनकै तस्वीर अंकित हुलाक टिकट निकालियो । प्रथम शहीद लखनथापा स्मृति प्रतिष्ठान स्थापना गरियो । स्मारक बनाइयो । धेरै ठाउँमा शालिक बनाइयो । अझै सम्मान पुगेको छैन । उनलाई राष्टिूय बिभूति बनाउनु पर्ने माग छ ।
तर अर्को छुटेको पाटो छ, उनीसंगै योजना बनाउने, संगसँगै खट्ने र संगसंगै गलामा पाँशो लगाउने जैसिङ चुमी मगरको खोजखबर छैन । कतै केही चर्चा छैन । न सालिक, न स्मारक, न प्रतिष्ठान, शहीदसम्म घोषणा गरिएको छैन । यो निक्कै दुखद पक्ष हो ।
प्राप्त उपलब्धीलाई संस्थागत गर्दै नयाँ उपलब्धीका लागि अघि बढ्नु पर्छ भन्ने प्राय सबैले जानेका छन् । अहिले लखन थापाको नाममा प्राप्त उपलब्धीलाई संस्थागत गर्दै उनीसंगै, उनी जत्तिकै खटेका र सहादत पाएका जैसिङ चुमीलाई शहीद घोषणा गर्ने कार्यलाई मुल एजेण्डा बनाउनु पर्छ । स्थानीय, प्रदेश र केन्द्र तीनै तहको सरकारसम्म आवाज बुलन्द गरौं ।

प्रतिक्रिया दिनुहोस्