| शनिबार, बैशाख ८, २०८१

बिगतको झल्को दिने अनुगमन

केही दिनदेखि गोरखाको औषधी पसलहरुको अनियमितताको बारेमा समाचार प्रकाशन भइरहेका छन् । जसका कारण शुक्रबार औषधी व्यवस्था बिभाग नेतृत्वमा जिल्ला प्रशासन कार्यालयको एकटोलीबाट सदरमुकाममा सञ्चालित फार्मेसीको अनुगमन पनि भएको छ ।

फार्मेसीबाट लागु औषध विक्री वितरण हुने, विशेषज्ञ चिकित्सकको सिफारिसमा मात्र बिक्री गर्नुपर्ने संवेदनशील औषधी पनि बिना सिफारिस बिक्री हुने, एक ठाउँका लागि दर्ता भएको पसल दुई ठाउँमा सञ्चालन हुने, एकजनाको नाममा फार्मेसी दर्ता गरी फार्मेसी नपढेको मान्छे औषधी पसलमा बस्ने गरेका जस्ता अनियमितता हुने गरेका छन् ।

यस बारेमा श्रृङ्खलावद्ध समाचार आएपछि अनुगमन भएको हो । यो अनुगमनबाट माथि बर्णन गरिएका जस्ता वा अन्य खालका अनियमिततासमेत अन्त्य हुने अपेक्षा छ ।  बिगतमा पनि यस्ता समाचार प्रकाशित हुन्थे । बिगतमा पनि अनुगमन हुन्थे तर अनुगमनमा समाचारमा आएजस्ता केही पनि भेटिन्थेनन् ।

अनुगमन टोलीलाई भण्डारमा भएका अवैध सामान कुनै व्यवसायीले पनि देखाउँदैनथे । म्याद नाघेका औषधी राख्ने बेग्लै भण्डार पनि देखाउँदैनथे । अनाधिकृत व्यक्तिले एक्सरे, भिडियो एक्सरे गर्ने गरेको पनि देखाउँदैनथे ।  अनि पत्रकारले व्यर्थको समाचार छापेर कर्मचारीलाई तथा व्यवसायीलाई दुख दिइएको आरोप लाग्थ्यो ।

अनि मिठापान गरेर अनुगमन समापन हुने गथ्र्यो । अहिले पनि अनुगमन भएको छ । यसपटकको अनुगमनमा पनि अनुगमन टोलीले यी कुरा खोजे वा खोजेनन्, व्यवसायीले यी सामग्री देखाए वा देखाएनन् ।  अनुगमन नियमित प्रक्रिया हो । नियमित हुनुपथ्र्यो । समाचारले ध्यानाकर्षण भएपछि भएको अनुगमनले पनि बिगतको झल्को नदियोस् । सतर्क  गराउने गरी, दोष देखिए कारबाही गर्ने गरी अनुगमन होओस् ।

प्रतिक्रिया दिनुहोस्