| सोमवार, कार्तिक २३, २०८३

काम नगर्ने ठेकेदारलाई किन सँधै म्याद थप ?

भूकम्प गएको बर्ष नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा वलीले भूकम्पको केन्द्रविन्दू बारपाकको भ्रमण गर्दा आश्वास दिए । दुई बर्षभित्र बारपाकमा कालोपत्रे सडक बन्छ ।

आश्वासनले चौथो बर्षगाँठ मनाइसक्यो, पाँचौ बर्षगाँठ मनाउने बेला भइसक्यो तर अहिलेसम्म सो बाटो कालोपत्रे भएको छैन । हुने सम्भावना पनि छैन । काम नगर्ने ठेकेदार देशका अन्य आयोजनामा ठेक्का हाल्न दौडधुप गरिरहेका छन् । पहिले लिएको ठेक्काको काम अलपत्र पारिरहेका उनीहरुलाई कार्यालयले फेरि ठेक्का थपिदिन्छ ।

अलपत्र भएका आयोजनाको म्याद थप भइरहन्छ । अहिलेसम्म यसरी नै चलिरहेको छ । सरकारले यस्ता गतिविधिलाई नियन्त्रण गर्ने बिधेयक ल्याएको थियो तर निर्माण ब्यवसायीको आन्दोलनका कारण सरकार पछि हट्यो । जीत फेरि काम नगर्ने ठेकेदारकै एजेण्डाको भएको छ । अब फेरि अलपत्र कामको म्याद थप हुने भएको छ ।

भुक्तभोगी भन्छन् : पर्दा अगाडि देखिने मात्र सरकार हो, देश चलाउने ठेकेदार, तस्कर, व्यापारी घरानाहरुले हो । कतिपय घटनाक्रमले यस्तै देखाउँछ । कैयौं मुद्धाहरु उठ्छन् । पत्रपत्रिकामा ब्यानार समाचार बन्छन्, टिभीहरुमा हेडलाइन समाचार बन्छन् । सामाजिक सञ्जालमा भाइरल बन्छन् । केही समयपछि माहोल सेलाउँछ अनि निर्णयमा फेरि सरकार तल, अनियमितता गर्नेहरु नै माथि पर्छन् ।

बारपाक सडक अलपत्र बनाउनेहरुको कामको पनि फेरि म्याद थप हुने भएको छ । फेरि अर्को बर्षका लागि यो बर्ष कामै नगरी बिताउन पाउने भएका छन् । उनीहरुलाई लठ्ठी लगाएर काम गराउन सडक योजना कार्यालय असमर्थ भएको छ । यस्ता घटना निमुखा, सर्वसाधारण नागरिकका लागि सुपाच्य हुदैन । तर जवर्जस्त पचाउन बाध्य हुनुपर्ने अबस्था छ । यो अबस्था कहिलेसम्म हो कुन्नि ?

प्रतिक्रिया दिनुहोस्