| सोमवार, कार्तिक २३, २०८३

प्रशासन र प्रहरीले कानमा तेल हालेर नबसुन्

गोरखाका गाउँगाउँका मेडिकलहरुले लागु औषध बिक्री बितरण गर्ने गरेको बारे धेरै पहिलेदेखि सुन्नमा आएको थियो । सदरमुकाम, त्यो पनि गोरखा अस्पताल आसपासकै औषधी पसलहरुले प्रेस्क्रिप्सनबिनाका औषधीहरु अनाधिकृत रुपमा बेच्छन् भन्ने सुन्दा अनौठो लाग्यो । स्थलगत रिपोर्टिङको क्रममा सुनेको कुरा सत्य साबित भयो ।

गोरखा अस्पताल आसपासका केही औषधी पसलले दुव्र्यसनीमा लागेका युवाहरुले लागु औषधको रुपमा प्रयोग गर्ने गरेका औषधीहरु खुल्लमखुल्ला बिक्री गर्ने गरेको भेटियो । प्रिग्वालिन लगायतका ती औषधी बिक्री बितरण गर्न चिकित्सकको सिफारिस अनिबार्य छ ।

तर ती नामका औषधी किन्न जाँदा सिटामोल, जीवनजल सरह सहजै बेच्ने गरिएको पाइयो, त्यो पनि पाकेटका उल्लेख गरिएको भन्दा बढि मूल्यमा । यसले के बुझाउँछ, जो कोहीले अनुमान गर्न सक्छन् । यसबारेमा समाचार प्रकाशन, प्रशारण भएपछि जिल्लाको बिकृति, विसंगति नियमन गर्न खडा भएको जिल्ला प्रशासन कार्यालयले कुनै चासो देखाएन ।

थाहा पाएको नपाई गरेर बसेको छ । उजुरी आउला र अनुगमन गरुँला भनेर बसेको पाइयो । सबै कुराको नियमन गर्ने निकाय जिल्लामा नहुन सक्छन् । त्यसो भए त्यससम्बन्धी अनियमितता नियन्त्रण नै नगर्ने भन्ने हुदैन । तिनको बारेमा अध्ययन, अनुसन्धान, छानबीन गर्ने, नियमन गर्ने र कारबाहीका लागि सम्बन्धित बिभागमा सिफारिस गर्नुपर्छ ।

सम्बन्धित बिभागसम्म सर्वसाधारणका पहुँच पुगेको हुदैन । उनीहरुको पहुँचमा रहेको सबैभन्दा नजिकको निकाय भनेको नै प्रशासन कार्यालय, प्रहरी कार्यालय हो । ती कार्यालयले पनि कानमा तेल हालेर, हातमा दही जमाएर बस्नु    हुदैन । अन्यथा जिल्लाका धेरै क्षेत्रमा बिकृति मौलाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्