| सोमवार, कार्तिक २३, २०८३

अस्पतालको सेवामा संवेदनशील हुनुपर्छ

गोरखा अस्पतालमा जनशक्ति नभए गोरखा जिल्लाबासीले स्वास्थ्य सेवा सजिलै नपाएको गुनासो नयाँ होईन । सेवा लिन चितवन, काठमाण्डौँ, पोखरा जस्ता ठुला शहरका अस्पताल धाउनुपर्ने नियती आजको मात्र समस्या होईन तर यो समस्या वर्षौँ देखि समाधान हुन सकेको छ्रैन् । अहिले त झनै पुन निर्माणको क्रममा रहेको अस्पतालले साधन स्रोतको अभावमा पहिले दिएजस्तो सेवा समेत प्रवाह गर्न सकेको छैन् ।

अस्पतालका विषेशज्ञ दरबन्दी छ तर डाक्टर आउँदैनन् । दरबन्दीको डाक्टर ल्याउन भन्दा करारमा कर्मचारी भर्ना गरेर भरथेग सेवा दिने काम समितिले गरिरहेको छ । अस्पताल प्रमुख नभएको महिनौँ बित्यो । अस्पतालमा निरिक्षण गर्न आएका बेला स्वास्थ्यमन्त्री, प्रदेशका मन्त्री नेता देखि सबैले अस्पतालमा स्तरीय सेवा दिन पहल गर्ने आश्वासन दिन्छन् ।

तर ५९ जनाको स्विकृत दरबन्दीमा १६ जना मात्रै कार्यरत रहँदा ती दरबन्दीका कर्मचारी, विषेशज्ञ डाक्टर ल्याउन प्रयास बिरलै हुन्छ । डाक्टर ल्याउन चाहेपनि आउँदैनन् भन्ने अर्को गुनासो अस्पतालकै छ । आउन नमान्नेलाई कसरी ल्याउने भन्ने योजना बनाईँदैन । साधन स्रोतको अभाव, भौतिक संरचनाको कमीका कारण सेवा प्रभावित भयो भने सुविधा सम्पन्न बनेपछि पनि सर्वसाधारणको मन जित्न अस्पताललाई मुस्किल पर्छ । भएकै साधन स्रोत र जनशक्तिलाई प्रयोग गरेर भएपनि गुणस्तरीय सेवामा अस्पतालको ध्यान पुग्नु जरुरी छ ।

गोरखा अस्पताल जिल्लाकै ठुलो सरकारी अस्पताल भएपनि अहिले यहाँबाट दिईने सेवा सुविधा केही निजी अस्पतालसँग तुलना गर्न मिल्ने खालको छ । सरकारी स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीले जबसम्म जागिरे प्रवृत्ती राखेर काम गर्छन तब सम्म त्यहाँको सेवा र गुणस्तर सुध्रन सक्दैन । अस्पतालको संरक्षण र सञ्चालनको जिम्मेवारी पाएको बिकास समितिले पनि सेवा र गुणस्तर सुधारमा दिलो ज्यान दिएर लाग्नुपर्ने आवस्यकता छ ।

प्रतिक्रिया दिनुहोस्