सदरमुकाममै ठेक्का छेकिनु लाजमर्दो
गोरखा नगरपालिका ६ पाटेचौरस्थित गोरखा अस्पतालले गत कात्तिकको १६ गते औषधी खरिदसम्बन्धी ठेक्का आव्हान गरेको थियो । एउटै मितिमा ९६ लाख रुपैयाँ बराबरको औषधी खरिद, आमा सुरक्षा सम्बन्धी २५ लाख रुपैयाँको र १९ लाख रुपैयाँ बराबरको एक्सरे खरिद सम्बन्धी टेण्डर आव्हान गरेको थियो । मंसीर १२ गतेसम्म १५ वटा आवेदन फर्म बिक्री भइसकेको पनि थियो तर ११ गते प्रहरीले चार जनालाई पक्राउ गरेर लग्यो । पछि मात्र अस्पतालले थाहा पायो, फर्म किनेर गएकामाथि ठेक्का छेक्न बसेका उच्छृङ्खल युवाहरुले दुव्र्यवहार गर्ने, फाराम च्यात्ने, धम्क्याउने गरेका रहेछन् । अरुलाई ठेक्कामा प्रतिष्पर्धा गर्न नदिएर आफूआफू मिलेर आफूखुशी दररेटमा ठेक्का फर्म दर्ता गर्ने अनि काम गर्ने दाउमा अस्पताल वरिपरिका कतिपय औषधी पसले देखिए । उनीहरुले स्थानीय अन्य होटल ब्यवसायी तथा अन्यहरुको पनि साथ मागे । यस्ता दृष्य २०७० साल अघि धेरै देखिन्थे । तत्कालीन माओवादी नेताहरुले युवा परिचालन गरी यस्ता गतिबिधि गर्ने गर्थे । जब इबिडिङ सुरु भयो, जब सो पार्टीको गतिविधि पनि मत्थर हुदै गयो, अनि यस्तो गतिबिधि अन्त्य प्राय भएको थियो । तर एकाएक मंसीर ११ गते फेरि त्यस्तो गतिविधि देखियो । यसपटकको यस्तो कुकृत्यमा कुनै राजनीतिक पार्टी नभै औषधी ब्यबसायी पार्टीको दुस्प्रयास भएको देखियो । कतिपय गाउँपालिकाहरुमा अहिले पनि यदाकदा ठेक्का छेक्ने क्रियाकलाप भइरहेका छन् भन्ने चर्चा सुनिन्छ । तर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सुरक्षा निकायको नाकैमा यस्तो दुखद समाचार सुन्नु लाजमर्दो घटना हो । यस्तो गतिविधिमा संलग्नलाई कारबाही गरी यस्ता गतिविधिलाई निर्मुल पार्नुपर्छ ।




