कालोपत्रे बनेका सडकको भाडा समायोजन गर
गोरखाका बिभिन्न ग्रामीण सडकहरु धमाधम कालोपत्रे हुन थालेका छन् । गोरखा आरुघाटको अधिकांश भाग कालोपत्रे भइसकेको छ । लुइँटेल भच्चेक सडक पनि पिच भइसकेको छ । बारपाक सडक लामो समयदेखि पिच हुन नसकेर अलपत्र छ । तैपनि केही प्याकेज पिच भएको छ । अँबुवा सडक पनि कतिपय भाग कालोपत्रे भएको छ । कतिपय सडक कालोपत्रे गर्न ठेक्का भइरहेको छ । बर्षौदेखि कच्ची सडकमा सास्ती भोगेका यात्रुहरुका लागि यो अत्यन्त सुखख समाचार हो ।
तर कालोपत्रे सडकमा पनि कच्ची छँदाको साबिक दरमै भाडा लिइरहेका छन् । यो भने दुखद समाचार हो । कच्ची र पक्की सडकको भाडादर एउटै हुनु कुनै पनि हिसाबले मनासिब हुदैन । ध्रुवसत्य कुराका लागि तर्क आबश्यक छैन ।
यो तात्तातो घटना पनि होइन । कालोपत्रे सडकमा कच्ची सडककै दरमा भाडा असुल गर्न थालेको महिनौं भइसक्यो । यो बिसंगतिका बारेमा बेला बेलामा मिडियाहरुमा खबर आइरहेका छन्, तैपनि अझै प्रशासन कानमा तेल हालेर बसेको छ ।
गोरखा सदरमुकामदेखि आरुघाट बजारसम्म करिब ४२ किलोमिटर सडकको भाडा दुई सय रुपैयाँ छ । यातायात व्यवसायीले यो भाडा लिन थालेको २०७४ असोजदेखि हो । चार घण्टा लाग्ने आरुघाट सडकको बस यात्रा दुई घण्टामा झरेको छ । भच्चेक सडकको अबस्था पनि उस्तै हो । त्यसैले जिल्ला प्रशासनले यसमा तत्काल ध्यान देऊ ।




