| शनिबार, बैशाख ८, २०८१

ठेकेदारले नतुहाउन् प्रदेश सरकारको सडक उपहार

गण्डकी प्रदेश सरकारले गोरखाका लागि यसबर्ष तीनवटा सडक कालोपत्रे योजना उपहार दिएको छ । बिभिन्न तीन सडक कालोपत्रे गर्ने र एउटा झोलुंगे पुल निर्माण कार्यको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सिलान्यास गरे । गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकाको सीमाना ढुंगागाढेदेखि बुंकोट, नाम्जुङ हुदै घैरुङ पुग्ने सडक कालोपत्रे गर्ने योजनाको सोमबार सिलान्यास भयो । त्यस्तै गोरखा बारपाक सडकको ढोडेनी बजारबाट भच्चेकसम्मको सडक कालोपत्रे गर्ने योजना र गोरखा बारपाकको चोरकाटेबाट थुम्कासम्मको सडक कालोपत्रे गर्ने कामको पनि सिलान्यास गरिएको छ । साथै सोमवार नै गोरखा नगरपालिका ३ को कुमालगाउँबाट सिरानचोक गाउँपालिकाको चोरकाटे जोड्ने टावर झोलुङ्गे पुलको पनि सिलान्यास गरिएको छ । यी सबै योजना गरी प्रदेश सरकारबाट गोरखाले यसबर्ष करिब ७९ करोड भन्दाबढिको विकास योजना पाएको छ । गोरखाको विकासका लागि यो अत्यन्त खुशीको समाचार हो । यसका लागि गोरखाबासीको तर्फबाट प्रदेश सरकार धन्यवादको पात्र छ । तर बिडम्बना के छ भने, सुरु गरिएका धेरै योजना ठेकेदारले तुहाएका छन् । बाबुराम भट्टराई अर्थमन्त्री, प्रधानमन्त्री हुँदा पनि गोरखाका लागि धेरै योजना नपारेका होइनन् तर ती योजना अहिलेसम्म पनि ठेकेदारहरुले अलपत्र पारे । ती योजना अहिलेसम्म पनि झाडीमा, माटोमा मिलिरहेका छन् । न त दिनेलाई दिएजस्तो, नत लिने लाई लिए जस्तो भएको छ । तसर्थ ठेकेदारले काममा आलटाल, ठगठाग गरेको प्रारम्भिक लक्षण देखिने बित्तिकै उपभोक्ता, मन्त्रालय दुवै पक्षले कारबाहीका लागि सुन्यसहनशीलता अपनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्