न्याक लगायत दुर्गम गाउँको स्वास्थ्य परीक्षणमा ध्यान देऊ
धार्चे गाउँपालिकाका बिभिन्न ठाउँमा मोटरबाटो पुगेको छ । मोटरबाटो पुगेपछि सरकारी, गैरसरकारी संस्थाका कर्मचारी, घुमन्ते, फिरन्तेहरु पुग्न थालेको छ । तल्लो भेगका मान्छेको आउजाउ बढेपछि धार्चेका बिकट गाउँ अब केही सुगम बनेको छ । तल्लो भेगको रहन सहनले छोएको छ । जसले गर्दा यहाँका अन्धविश्वास पनि हट्दै छ । यहाँ यदि कोही बिरामी भए, गाउँमा रोग फैलिए उपचार सेवाका लागि सदरमुकाम, अन्य सहर जान पनि सहज भएको छ ।
तर चुमनुब्री गाउँपालिकाका प्राय सबै गाउँमा मोटरबाटो पुगेको छैन । यहाँ रोग फैलिएमा सितिमिति बाहिर खबर आउँदैन । गाउँमा रोग फैलिएको खबर सार्वजनिक भयो भने गाउँको बद्नाम हुन्छ भन्ने रुढी परम्परा गाउँमा प्रचलित छन् । त्यसैले पनि रोग लुकाएर बसेका हुन्छन् । तल्लो भेगको पहुँच कम भएकाले यहाँ यस्तो धेरै रुढी परम्परा कायम छ । त्यस्तो परम्परा हट्नु पर्छ । सरकारी तथा गैरसरकारी संस्थाका स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा जानु आवश्यक छ । हेपाटाइटिस, क्षयरोग, ग्यास्ट्रिक जस्ता रोग अधिकांश गाउँलेमा छन् । तर उनीहरु सार्वजनिक गर्न चाहदैनन् । त्यसैले स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीको टोली चुमनुब्रीको न्याक जस्ता अन्य गाउँमा पनि पुग्नु आवश्यक छ ।




