| सोमवार, कार्तिक २३, २०८३

पर्यटन प्रवद्र्धन गर्न पूर्वाधारको खाँचो

गोरखाको मनास्लु क्षेत्रमा विदेशी पर्यटकको घुइँचो छ । बिगत बर्षभन्दा यस बर्ष पर्यटकको आगमन बढेको स्थानीयबासी बताउँछन् ।
अहिले अधिकांश विदेशी पर्यटक सोतीबाट पदयात्रा सुरु गर्छन् । कतिपय माछाखोलासम्म गाडीमा गएर त्यहाँबाट पदयात्रा सुरु गर्छन् । कतिपय भने आरुघाटदेखि नै यात्रा सुरु गर्छन् । पदयात्रा जहाँबाट सुरु गरे पनि उनीहरुलाई अवश्यक पूर्वाधारको अभाव छ । जस्तो, नवनिर्मित सडकको छेउछेउ यात्रा गर्दैगर्दा उनीहरुलाई गाडीले उँडाएको धुलोले हैरान पार्छ । त्यो भन्दा हैरान त सोही बाटोमा हिड्ने खच्चडले पार्छ । साँगुरो पदमार्ग, त्यहाँभन्दा तल बढेमानको गण्डकी नर्दी, विपरीत दिशातर्फबाट आएको खच्चडको हुलले पर्यटकलाई बाटो काट्न धौ धौ पर्छ । त्यस्तै खच्चडका मलमुत्रको प्रदुषणले पनि पर्यटक नाराज हुने गर्छन् । अहिले निर्माणाधीन सडकका चुच्चे ढुंगाहरुले उस्तै सास्ती दिन्छन् । ठाउँठाउँमा बिस्फोटका बेला बाटोमै घण्टौंसम्म रोकावट हुने गर्छ । माछाखोलाबाट माथि गएपछिका अधिकांश होटलहरुमा स्वस्थ, स्वच्छ सेवा पाइँदैन । अवान्छित कतिपय गाइडहरुले पनि पर्यटकलाई हैरानी पार्ने गर्छन् । मादक पदार्थ सेवन गरी पर्यटकलाई अवाक पार्ने काम पनि गरिरहेको पाइन्छ । यस्ता असुविधाका बाबजुद पर्यटकको लर्को लामै हुने गर्छ । उनीहरुलाई सन्तुष्ट गराउन पर्यटन ब्यबसायीहरु गम्भीर रुपमा लाग्नु पर्छ । पर्यटकलाई बाध्यकारी यात्रा होइन, खुशी, रोमाञ्चित र प्रफुल्ल पारी सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्छ । यसप्रति उनीहरुले पहल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्