छतको पानीको धारा सडकमा
गोरखा नगरपालिकाले गोरखा बजारलाई स्तरीकरण गर्न धेरै पहल गरेको छ । फुटपाथ व्यवस्थित गर्न पटक पटक सम्बन्धित घरधनीलाई पत्राचार गरेको छ । दर्ता नगरी चलेका फुटपाथ पसल हटाउन पनि बारम्बार अनुगमन र चेतवानी गरेको छ ।
अब घरको छतबाट सिधै सडकमा पानीको धारा झर्ने प्रवृत्तिको अन्त्य गर्न पनि नगरपालिकाले पहल गर्नुपर्छ । गोरखा बजारका प्राय घरको अबस्था त्यही हो । छतको पानीको धारा झरेर कालीमाटी टोलमा बर्षातका बेला हिड्नै नमिल्ने अबस्था हुन्छ । पँदेली, छहरे टोलको अबस्था पनि उस्तै हो ।
सडक वा फुटपाथ फराकिलो भएको ठाउँमा त धारा छलेर पनि हिड्न सकिन्छ । जहाँ सडक पनि साँगुरो, फुटपाथ नभएको टोलमा त छतको पानीले हिड्नै न मिल्ने अबस्था बनाउँछ । बिगतदेखि यस्तो अबस्थाको सामना गरिरहेका गोरखाबासीलाई त यो पच्न सक्छ, गोरखा बाहिरबाट आएका वा देशबाहिरबाट आएकाहरुले यस्तो अबस्था देखे भने गोरखाबजारबासीलाई उपेक्षा गर्नेछन् । उपाहास गर्नेछन् । त्यसैले यसको अन्त्य गर्न पनि नगरपालिकाले पहल गर्नुपर्छ ।
यो असभ्य प्रवृत्तिको अन्त्य गर्ने अरु निकाय छन् भने अरुले गरुन्, नभए नगरको सुन्दरता कायम गर्ने सर्वाधिकार सम्पन्न निकाय नगरपालिका नै हो । नगरपालिकाले नै घरको यस्तो संरचना अन्त्य गर्न कदम चाल्नु पर्छ ।




