
बैकल्पिक रङ्गशालाको अपरिहार्यता
गोरखा बजारभित्र एउटा खेलकुद मैदान छ । मैदान जिल्ला खेलकुद विकास समितिको स्वामित्वमा छ । तर समितिले २० बर्षसम्म सो मैदानको ब्यबस्थापन, संरक्षण, खेलकुदका गतिबिधि सञ्चालन गर्नका लागि गोरखा जिल्ला फुटबल संघ(एन्फा)लाई लिखित जिम्मेवारी दिएको छ ।एन्फाले फुटबल खेलका लागि सुहाउँदो हुने गरी बिभिन्न संरचना निर्माण गरिरहेको छ । सो मैदानमा खेलकुदबाहेक अन्य क्रियाकलाप हुनुहुदैन भन्ने बहश गर्दै आएको छ । अहिले गोरखा च्याम्बर अफ कमर्शले आयोजना गर्न लागेको दशैँ मेला पनि सो ठाउँमा सञ्चालन हुन दिन्न भनेर आवाज बुलन्द गरिरहेको छ । उसको तर्क मनासिब छ ।गोरखा बजारभित्र बेला बेला मेला महोत्सव हुने गर्छ । राजनीति तथा नागरिक सभा, आमसभा, यज्ञ, महायज्ञ, पुराण, भूकम्प जस्ता बिपतका बेलाको आश्रयस्थलको रुपमा पनि सो मैदान प्रयोग हुदै आएको छ । एउटा नगरमा यी गतिबिधि अपरिहार्य छन् । यस्ता गतिविधिका लागि एउटा ठूलो मैदान अनिबार्य आवश्यक छ । अर्को उपयुक्त मैदान नभएको र यसअघि यस्ता गतिविधि सबैले सञ्चालन गर्दै आएकाले सो मैदानमा दशैं मेला गर्न पाउनु पर्ने च्याम्बर अफ कमर्शको तर्क पनि ठिक छ ।
यी दुबै ठिक तर्कले समस्याको समाधान निस्किदैन । झन चुलिदै जान्छ । त्यसैले एउटा उपयुक्त साइजको मैदान गोरखा बजारभित्र निकै खाँचो छ । अहिले सरकारले एक वडा एक खेल मैदान भन्ने कार्यक्रम नीति लागु गरेको छ । खेलमैदानका लागि प्रदेश सरकारले पनि साझेदारी गर्छ । त्यसैले यही माहोलका बीच सर्व पक्षीय बहशले एउटा उपयुक्त मैदानको खोजी गरी विकास गर्नु अत्यन्त जरुरी छ ।




