
स्याउ खेती प्रबद्र्धन गरौं
गतबर्ष गोरखाका केही ठाउँमा बिभिन्न जातको स्याउको परीक्षण खेती गरिएको छ । चुमनुब्री गाउँपालिकाको अगुवाइमा जुम्लामा पुगेर स्याउखेतीको अध्ययन अवलोकन तथा तालिम लिएर आएका छन् । उनीहरुले परीक्षणका लागि धेरै ठाउँमा स्याउखेती गरेका पनि छन् ।
धार्चे गाउँपालिकामा पनि भवन डिभिजन कार्यालयले स्याउ खेतीको परीक्षण गरेको छ । इटलियन स्याउको १४०० थान बिरुवा ल्याएर खेती गरिएको थियो । रोपिएको तीन महिनामा नै फलेर उत्पादन दिएको छ । अहिले उनीहरु विरुवा थप गरी लगाउने तयारीमा छन् ।
अहिले बारपाकतिर पनि स्याउ खेतीको परीक्षण खेती सुरु गरिएको छ । हिमालय माविले आफ्नो खुल्ला क्षेत्रमा स्याउ खेती सुरु गरेको हो । यदि यो राम्रो भयो भने थप जग्गामा पनि लगाउने जनाएको छ ।
हावापानी अनुसार उपयुक्त भयो र व्यवसायिक रुपमा स्याउ खेती भयो भने स्थानीयबासीलाई ठूलो आर्थिक संवृद्धि आउने विश्वास लिन सकिन्छ । अहिले कास्मिरी स्याऊ, अमेरिकी स्याउले गोरखा बजार मात्र होइन नेपालकै बजार धानेको छ । यदि प्रसस्त खेती भयो भने स्थानीयको आयआर्जन पनि बढ्ने, उपभोक्ताले पनि गौरवका साथ आफ्नै जिल्लाको स्याउ खान पाउने अबस्था आउने छ । अहिले विदेशबाट फर्कने र स्वदेशमै बिभिन्न खेती तथा पशुपालन गरेर आयआर्जन गर्नेहरुको संख्या बढिरहेको छ । जसले गर्दा नेपाली गाउँहरुमा अहिले युवाहरु देख्न पाइन्छ । उनीहरुले स्वदेशमै फर्म सञ्चालन गरे भने अन्यले पनि ती फर्ममा रोजगार पाउँछन् । त्यसैले स्याउ प्रवद्र्धनका लागि सबैको चासो बढ्नु पर्छ ।




