
खेलकुद मैदानको जग्गा कसले खोज्ने ??
जिल्लामा हालै फूटवलका दुई प्रतियोगिता भए । जिल्ला फूटवल संघमा आवद्ध क्लवहरुविचको जिल्ला लिग र माध्यमिक विद्यालयहरुविचको क्विक्स कप फूटवलले जिल्लाका फूटवलप्रेमीहरुलाई केही हदसम्म भएपनि घरेलु फूटवलको तलतल मेटाउने काम ग¥यो ।
हरमटारी खेलकुद मैदानमा दुबै प्रतियोगिता हेर्न उपस्थित दर्शकको उत्साह हेर्दा जिल्लाको फूटवल विस्तारै जुर्मुराउन थालेको बुझिन्छ । तर दर्शकहरुको एउटै गुनासो हुने गर्छ, सदरमुकामको एकमात्रै मैदानलाई अहिलेको भन्दा राम्रो बनाउन किन सकिएन ?
हुन पनि जिल्लास्तरका प्रतियोगिताका लागि सदरमुकाम आसपास अरु मैदान छैन । भएको यो मैदान भने वर्षौंदेखि सुध्रन सकेको छैन ।
तत्काल वरपर अरु मैदान निर्माणको सम्भावना नभएकाले यही मैदानलाई सुधार गर्नुको विकल्प छैन । गोरखा नगरपालिका र एन्फाले सहकार्य गरि मैदान स्तरोन्नती गर्न लागेको सुनिएको छ ।
जिल्ला खेलकुद विकास समिति स्वामित्वको उक्त मैदान सुधारको काम थाल्नु अघि मैदानको जग्गा यकिन हुनुपनि जरुरी छ । हरम टारी खेल मैदानका लागि अधिग्रहण गरिएको जग्गा कति हो ?
अहिले कुन अवस्थामा छ ? अधिग्रहण गरिएको जग्गा अतिक्रमण त भएको छैन ? फूटवलप्रेमी मात्रै होइन, आमरुपमा यो चासो वर्षौदेखि रहँदै आएको छ तर कतैबाट आधिकारीक जवाफ आउन सकेको छैन । जिल्ला खेलकुद विकास समिति मात्रै नभई, उक्त मैदानको जग्गा एकिन गरि संरक्षण गर्ने दायित्व गोरखा नगरपालिका र जिल्ला प्रशासन कार्यालयको पनि हो । आखिर मैदान रहे पो फूटवल वा अरु खेल जीवित रहन सक्छ ।




