| सोमवार, कार्तिक २३, २०८३

पूर्वाधार निर्माणमा गुणस्तरमा ख्याल गर

 

भूकम्पीय आपतकालीन सहायता परियोजना अन्तरगत गोरखामा बनेका दुईवटा सडकको काम  गुणस्तरहिन भएको पुष्टि भएको छ ।  लुइँटेल भञ्ज्याङ भच्चेक सडकको पहिलो खण्डको बिभिन्न ठाउँमा सडक भत्किएको छ, ग्याबिन वाल ढलेका छन् । नाला पुरिएका छन् । कालोपत्रे भएको केही समयमै सडक भत्किँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । घ्याम्पेशाल बहाकोट पाल्खु स्वाँरा सौरपानी सडकको पनि यहि हालत भएको छ ।

करीब ९० करोड रुपैयाँको लागत रहेको  दुबै सडकको हालत यस्तो बन्दा स्थानीय आक्रोशित छन् । दुबै सडक निर्माणका क्रममा ठेकेदारको चरम लापरबाही रहेको स्थानीय बताउँछन् । तर सडक निर्माणमा ठेकेदारको लापरबाहीलाई सरकारी निकायले नै छुट दिँदै आएको छ । परिणाम र गुणस्तर चेक नगर्दा सडक निर्माण अस्तव्यस्त छ । गुणस्तरीय पूर्वाधार निर्माणमा ठूलो चुनौती छ । चाहे त्यो सडक होस, चाहे पुल । करोडौं लगानी गरेर बनेको सडक कम गुणस्तरका  हुँदा सर्वसाधारणले सास्ती त पाएका नै छन्, बजेट पनि नोक्सान भएकोे छ ।

गुणस्तरीय पूर्वाधार निर्माण गर्न सके समृद्धिको आधार तयार हुन्छ । तर, पुर्वाधार निर्माणमा लापरबाही गर्नेलाई कारबाही गर्न सम्बन्धित निकायले ध्यान नदिएसम्म  गुणस्तरका काम हुन सक्दैन । कमजोरी गर्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीयले निगरानी र खबरदारी गर्नैपर्छ । जिम्मेवार कार्यालयले आबश्यक अनुगमन गरेर  राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने निति कार्यान्वयन गर्नुपर्छ । यसो गरेमा केहि हदसम्म भएपनि पुर्वाधार निर्माणका काम राम्रो र गुणस्तरीय बनाउन सकिन्छ । जनताले प्रयोग गर्ने सडकमा कसैलाई सास्ती नहोस् भन्नेतर्फ सबैले ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्