
सम्पादकीय मामाको धन फुपूको श्राद्ध नहोओस्, प्रधानमन्त्री रोजगार कार्यक्रम
देशका बेरोजगार युवाहरुलाई रोजगार दिने प्रयास स्वरुप अहिलेको सरकारले प्रधानमन्त्री रोजगार कोष स्थापना गरी युवाहरुलाई काम गराउने र काम गरेबापत पारिश्रमिक दिने अभ्यास गरेको छ । सरकारको यो पहिलो प्रयास हो । धेरै गाउँपालिकाले यो काम सुरु गरेको छ । गोरखाकै सन्दर्भमा भन्नुपर्दा दुई गाउँपालिकाको भने सुरु भएको छैन । एउटा गाउँपालिकाको त बजेट नै फिर्ता हुने अबस्थामा छ ।
जुन गाउँपालिकाले कार्यक्रम सुरु गरेका छन्, तिनमध्य कतिपयको मनासिब कार्यक्रम नै गरेका छन्, कतिपयको कार्यक्रम भने झारा टार्ने खालका छन् । अन्य जिल्लाको सन्दर्भमा हेर्दा, बगैंचाको झार उखेल्ने जस्ता हल्काफुल्का काम गराएर पैसा दिने मेसो मिलाएको पाइयो । गोरखाकै कतिपय गाउँपालिकाले पनि सडक हेरालु राखेर पैसा दिने कार्यक्रम बनाएका छन् ।
सजिलैसंग सरकारले दिएको पैसा सजिलो काम लगाएर युवाहरुलाई दिने नीति लिँदा यसको उपलब्धी सुन्य हुन्छ । यो कार्यक्रम प्रत्यूत्पादक हुन्छ । सांसद कोषको बजेट कार्यकर्ता पाल्न प्रयोग गरेजस्तै यो शीर्षकको बजेट पनि बिनासित्तै खर्च हुने देखिन्छ । मामाको धन फुपूको श्राद्ध भन्ने नेपाली उखान झैं सजिलै आएको पैसा सजिलै खर्च गर्दा यसले उपलब्धीमुलक काम हुन सक्दैन । बजेटको सदुपयोग पनि होओस्, उपलब्धी मुलक काम पनि होओस्, बेरोजगारले केही समयको मात्र भए पनि काम पनि पाउन्, दाम पनि पाउन् भन्ने उद्देश्य फलदायी हुन्छ । अन्यथा यो कार्यक्रम टिकाउ नहुन सक्छ । सरकारले लिएको मर्म र भावलाई सार्थक बनाउन र यसलाई दिर्घकालीन बनाउन महत्वपूर्ण काममा बजेट खर्च गर्नुपर्छ ।




