| सोमवार, कार्तिक २३, २०८३

सहकारीलाई पनि नबिर्सने कि ?

गोरखाका सबै स्थानीय तहमा बैङ्किङ सेवा पुगेको छ । केन्द्रभन्दा बैङ्क रहेको ठाऊँ टाढा पर्दा केही स्थानीय तहलाई ब्यवहारिक कठिनाई परेको गुनासो पनि छ । बैङ्कहरुले यस्ता केही कमजोरीमा सुधार गर्नुपर्छ । बैङ्कको औपचारिक उपस्थिति मात्रै भएर हुन्न, सँगसँगै नागरिकमा बैङ्किङ साक्षरता लगायतका काममा पनि यी बैङ्कहरु सँगसँगै अघि बढ्नुपर्छ । आफ्नो पालीकामा बैङ्क आयो भनेर स्थानीय तहले सहकारीहरुलाई बिर्सनु भने हुँदैन । सरकारी ठूला कारोबार नगरे पनि सहकारी स्थानीय जनजीवनसँग प्रत्यक्ष जोडिएको कुरालाई बुझ्नु जरुरी छ । एक किसिमले भन्ने हो भने ठूला बैङ्किङ कारोबारको जग भनेको गाऊँगाऊँका सहकारीनै हुन् । सहकारीले समुदायलाई संगठित गर्ने, छरिएर रहेका बचतहरु संकलन गरेर पुजीको विकास गर्ने, समुदायको वित्तीय आवश्यकता परिपूर्ति गर्न सक्ने र स्वरोजगारीका प्रशस्त अवसरहरु सिर्जना गर्न सक्छ । सहकारीहरु आम नागरिकहरुबीच वित्तीय साक्षरता, जागरण र सशक्तिकरणको आधार बन्न सक्छन् ।

स्थानीय तहले सहकारी अभियानको प्रवद्र्धन, नियमन र व्यवस्थापनमा प्रभावकारी ढंगले काम गर्दै सुशासित र विश्वसनीय बनाएर सबै नागरिकहरुलाई स्थानीय श्रम, सीप र पूँजीमा आधारित उद्यम–व्यवसाय सञ्चालनको आधार तय गर्न सक्नेछ । सहकारीमार्फत किसानहरुलाई संगठित गरेर कृषिमा व्यवसायीकरण गरी उत्पादन, वितरण र उपभोगमा देखिएका समस्याहरुलाई हल गर्न सकिन्छ ।  स्थानीय तह र सहकारीको सामूहिक लगानी र स्वामित्वमा गाऊँमै मझौला खालका उद्योगहरु स्थापना गर्न सकिन्छ । स्थानीय तह स्वयमं व्यवसाय वा नाफा–नोक्सानको क्रियाकलापमा संलग्न हुन सक्दैन । सहकारीको माध्यमबाट व्यवसाय अघि बढाउने, आयस्रोत बढाउने र समुदायलाई नै सामूहिक व्यवसाय र उत्पादनका क्रियाकलापहरुमा उत्साहनजक रुपमा सहभागी गराउनतिर पनि स्थानीय तहले ध्यान दिन सक्छ । गाऊँमा जति धेरै पुँजी निर्माणको काम हुन्छ, अहिले गाऊँपालीकामा खुलेका बैङ्कहरुलाई त्यही ठाऊँमा शाखा कायम गरिराख्न मद्धत पुग्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्