| सोमवार, कार्तिक २३, २०८३

कसरी सम्झने बैशाख १२ लाई ?

गोरखा भूकम्प गएको आउँदो बैशाख १२ गते चार वर्ष पूरा हुँदैछ । भूकम्प गएको चार वर्ष बिते पनि त्यसले दिएका चोट र क्षतिको पूर्ण सम्बोधन भने अझै हुन सकेको छैन । भूकम्पको बेला र त्यसपछि बनेका सरकारले पुनर्निर्माणलाई प्राथमिकतामा राखे पनि काम भने त्यस अनुसार हुन सकेको छैन । गोरखामा करीव ७५ प्रतिशत घरको पुननिर्माण सकिएको सरकारी तथ्याङ्क छ । अन्य सरकारी कार्यालय र विद्यालयको पुननिर्माण पनि चल्दैछ । यही क्रममा भूकम्पलाई स्मरण गर्ने दिन नजिकिँदै छ । केन्द्रविन्दू वारपाकमा केही कार्यक्रमको तयारी शुरु भएको छ । अघिल्ला वर्षहरुजस्तै ठाऊँठाऊँमा औपचारिक कार्यक्रम गरिनेछ र यो वर्षको बैशाख १२ गते पनि बित्नेछ । तर यो पुस्ताले भोगेको सबैभन्दा ठूलो भूकम्पपछि केन्द्रविन्दू गोरखाले के सिक्यो र के सिकाउन सक्यो ? यसबारे विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि गम्भिर समीक्षा हुने जस्तो देखिँदैन । केन्द्रविन्दू पनि भएको हिसावले गोरखाले भूकम्पपछि अरु प्रभावित जिल्ला भन्दा एउटा भने पनि केही नमूना कार्यक्रम गर्न सक्थ्यो, त्यो अवसरलाई हामीले उपयोग गर्न सकेका छैनौं । ब्यक्तिगत आवास, सरकारी कार्यालय वा विद्यालय पुननिर्माण सम्पन्न पहिलो जिल्ला बन्ने अवसर हाम्रा लागि छ । भूकम्प प्रभावित जिल्लाका नागरिकले एक पटक केन्द्रविन्दू जिल्ला पुग्नै पर्छ भन्ने खालको केही संरचना बनाउन सकिन्थ्यो । भूकम्प स्मृति पार्क बाहेक हामीले अरु नयाँ काम गर्न सकेनौं, जसले केन्द्रविन्दूतर्फ नेपाल र विश्वको ध्यान खिच्न सकोस् । यो पटकको भूकम्प स्मृति दिवसका दिन कम्तिमा विद्यालय, सरकारी कार्यालय, ब्यक्तिगत आवास वा स्वास्थ्य संस्थामध्ये कुनै एक क्षेत्रको पूननिर्माण सकिएको घोषणा गर्न सकिएला ? सकिने अवस्था छैन भने, निश्चित समयभित्र उक्त घोषणा गर्न सकिने प्रतिवद्धतासम्म भएपनि गर्न सकिएला कि ?

प्रतिक्रिया दिनुहोस्