कृषिमा यान्त्रीकरण र युवा
कृषकहरुलाई हाते ट्रयाक्टर अर्थात पावर ट्रिलर वितरण गरिएका खबर र तस्विर हिजोआज हामीलाई सामान्य लाग्न थालेका छन् । पछिल्लो समय स्थानीय सरकारहरुको प्राथमिकतामा कृषि क्षेत्र पर्न थालेको एउटा संकेतका रुपमा पनि यसलाई बुझ्न सकिन्छ ।
त्यसो त कृषकहरू आफ्नै लगानीमा पनि आधुनिक उपकरण प्रयोग गरी कृषिलाई यन्त्रीकरण गरिरहेका छन् । यस्तो यान्त्रिक प्रविधिको प्रयोगले कृषि श्रम, समय र लागतको पनि बचत हुन्छ । फलतः कृषकहरू लाभान्वित हुन्छन् । त्यसैले कृषि क्षेत्रको विकासका लागि आधुनिक उपकरणको प्रयोग आवश्यक छ ।
मानव श्रमको उपयोग गर्दा ठूलो जनशक्ति, धेरै समय र लागत लाग्ने काम मेशीनले क्षणभरमै गरिदिने भएपछि कृषकको आकर्षण बढ्नु स्वाभाविकै हो । यस्ता खालका विभिन्न यन्त्र र प्रविधिका उपयोग गर्दै जाने हो भने कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न सकिन्छ । तर कृषिलाई आधुनिकीकरण गर्ने हो भने युवावर्ग र शिक्षित वर्गलाई पनि यस पेशातर्फ आकर्षित गर्नु जरुरी छ ।
अहिले किसानलाई धमाधम पावर ट्रिलर बाँडिरहेका स्थानीय सरकारले युवालाई कृषि पेशामा आकर्षित गराउन अनुदान वा लगानीका अन्य अवसर पनि जुटाइदिनुपर्छ । लगानीको प्रतिफल आउने सुनिश्चितता समेत गरिदिने हो भने त सयौं बेरोजगार युवाहरुले कृषिकर्मलाई पक्कै अंगाल्नेछन् । त्यसो भयो भने कृषिक्षेत्रको विकास पनि छिट्टै हुन्छ । त्यसपछि यस क्षेत्रमा निजीक्षेत्रको पनि लगानी बढ्नेछ ।




