
स्याउ उत्पादक किसानलाई सरकारी सहयोगको खाँचो
गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँहरुमा स्याउ उत्पादन हुनु स्वभाविकै हो किनकि, त्यो हिमाली हावापानी भएका गाउँहरु हुन् । धार्चे पनि उच्च पहाडी हावापानी भएको ठाउँ हुनाले त्यहाँका कतिपय गाउँबस्तीमा पनि स्याउ उत्पादन हुन्छन् ।
व्यवसायिक रुपमा नगरेर मात्र हो, यदि व्यवसायिक स्याउ खेती गर्ने हो भने धार्चे र चुमनुब्री गाउँपालिकाको मुख्य आम्दानीको स्रोत नै स्याउ हुने थियो । तर त्यहाँ उत्पादन भएका स्याउ बजारसम्म पुर्याउन सास्ती भएकाले स्थानीय बजारकै भरमा खपत भइरहेका छन् ।
चुमनुब्री गाउँपालिकाका ती गाउँबस्तीमा यातायातका साधनको पहुँच छैन । खच्चडमा बोकेर बजारसम्म ल्याउँदा कुहिने, बिग्रिने हुन्छ । जसका कारण व्यवसायिक उत्पादनकर्ताले नबिकेका स्याउबाट चिप्स, एप्पल साइडर र मदिरा बनाएर खपत गरेका छन् ।
गतबर्षदेखि गोरखाको अजिरकोट गाउँपालिकाको वडा नं. २ नब्लु र मूलखर्कमा पनि स्याउ उत्पादन हुन थालेको छ । गाउँपालिकाको अनुदानमा दुई किसानले व्यवसायिक रुपमा स्याउ उत्पादन गरेका छन् । तीन–तीनसय बोट रोपेका उनीहरुले गतबर्ष पनि मनग्य आम्दानी गरे । यसबर्ष पनि स्याउ लटरम्मै उत्पादन भएका छन् ।
यसरी नै अरु किसानले पनि व्यवसायिक रुपमा स्याउ खेती गरेमा उनीहरुलाई मनग्य आम्दानी हुनेछ । दुईचार पैसा कमाउनकै लागि वैदेशिक रोजगारीमा जान बाध्य हुनेहरु स्वदेशमै बस्ने वातावरण मिल्नेछ । यस्तो वातावरण बनाउनका लागि स्थानीय सरकारका रुपमा रहेका गाउँपालिकाहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।
प्रदेश सरकारले पनि उत्पादनमुलक कार्यक्रमका लागि नीति तथा कार्यक्रम बनाउने, सहयोग गर्ने गर्नुपर्दछ । तल्लो भेगमा बजारको कुनै समस्या छैन । माग धान्न पनि व्यवसायीलाई हम्मेहम्मे छ । तर हिमाली भेगका व्यवसायीलाई उत्पादन बजारसम्म पु¥याउन मुस्किल परेको छ ।
त्यसैले प्रदेश सरकारले, स्थानीय सरकारले व्यवसायिक उत्पादन गर्ने किसानलाई परेको समस्याको समाधानका लागि सक्दो पहल गर्नुपर्दछ ।




