| शुक्रबार, भदौ ४, २०८३

गण्डकी गाउँपालिकाको केन्द्र अब वनटार नै

पालिकाको केन्द्र कहाँ राख्ने भन्नेबारे गण्डकी गाउँपालिकाको लामो समयदेखिको अन्यौलता समाप्त भएको छ । गाउँपालिकाको केन्द्र वनटार सार्नेसम्बन्धमा कार्यपालिकाको निर्णविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेसंगै अब हाल प्रकाशकीय कार्य सञ्चालन भइरहेको वनटारमा नै केन्द्र रहने भएको हो ।

यसअघि सो गाउँपालिकाको केन्द्र भुम्लिचोकमा सञ्चालित थियो । सो ठाउँबाट नयाँ निर्वाचित नेतृत्वले केही समयसम्म तोमनडाँडा आधारभूत विद्यालयको परिसरमा सञ्चालन गरेको थियो । कार्यपालिकाको बैठकले पालिकाको प्रशासकीय भवन वनटारमा सार्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले सो निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट हालेको थियो । सो रिट हालै सर्वोच्चले खारेज गरेको हो ।

‘अब भने गाउँपालिकाको केन्द्र कहाँ रहने भन्ने अन्यौलता समाप्त भयो’, गाउँपालिकाका प्रमुख दीपक तिमिल्सिनाले भने, ‘सर्वोच्चको फैसलाले अब हामी ढुक्कसंग काम गर्न पाउने भयौँ ।’ वनटारमा पूर्वाधार विकास कार्यालयले बहुउद्देश्यीय सभा हल भनी एउटा पक्की भवन निर्माण गरेको छ । सोही भवनलाई व्यवस्थापन गरी गाउँपालिकाको प्रशासकीय कार्य गर्दै आएको अध्यक्ष तिमिल्सिनाले बताए ।

त्यस्तै बुटारमा निर्माणाधीन सुपर त्रिशुली जलविद्युत आयोजनाको प्रवद्र्धक संस्था ब्लु इनर्जी कम्पनीले सामुदायिक भवन भनी आठ कोठे भवन निर्माण गरेको छ । सो भवनलाई पनि प्रशासकीय भवनका रुपमा सञ्चालन गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्