
मौलिक संस्कृतिको महत्व र गरिमा जोगाऔँ
संस्कार, संस्कृति मानव सभ्यताको उत्पत्तिदेखि नै सुरु भएको हो । मान्छेहरुको विकासक्रमसंगै संस्कार, संस्कृति पनि परिस्कृत हुँदै गएको हुन्छ । अर्थात मान्छेहरुको बसाइँसराइसंगै संस्कृति पनि मासिँदै तथा छिन्नभिन्न हुँदै गएको हुन्छ । जहाँ आदिवासी जनजातिको आदि थलो हुन्छ, त्यहाँ प्राचीन संस्कार, संस्कृति बाँचिरहेको हुन्छ ।
गुरुङ, घले समुदायको बाहुल्य रहेको धार्चे गाउँपालिकाका बिभिन्न गाउँहरु पनि संस्कार संस्कृतिले धनी छ । त्यहाँ राम्रा नराम्रा दुवैथरी संस्कृति छन् । लेक, खर्कमा गोठ राख्ने, उँधौली, उँभौली गर्ने पनि एउटा संस्कृति हो । थिति बसाल्ने खालको यो समितिको काम सह्रानीय छ । गोठ समितिले गोठ सार्ने तिथि मिति तय गर्छ । कसैको बस्तुभाउले बिराए जरिबाना गर्छ । जरिबाना बापत संकलित रकमले लेक, खर्क, गोठमा जाने बाटोघाटो मर्मत सम्भार गर्छ ।
घासे जंगल संरक्षणको काम गर्छ । यसको आफ्नै विशिष्टता छ । त्यसैले यो संस्कृतिको संरक्षण गर्नुपर्छ । अहिले संघ, प्रदेश र स्थानीय तह पनि जनप्रतिनिधिले भरिभराउ भएको छ । गाउँपालिका, वडाहरुमा अध्यक्ष, उपाध्यक्ष, सदस्यहरु गाउँटोलमा छन् । परेको बेला, चाहिएको बेला उनीहरु उपस्थित हुन सक्छन् तैपनि गोठ समिति जीवित छ । जीवित हुनुपर्छ पनि ।
जसरी सामुदायिक वन व्यबस्थापनका लागि वन समिति छ, विद्यालय व्यबस्थापनका लागि विद्यालय व्यबस्थापन समिति छ, साहित्य, संस्कृतिको संरक्षण तथा गतिविधि सञ्चालन गर्न साहित्यिक, सांस्कृतिक समितिहरु छन्, बिभिन्न आमा समूह, युवा क्लवहरु छन् । उनीहरुले आफ्नै क्षेत्रका काम गरिरहेका छन् भने गोठलाई ब्यबस्थित बनाउन गोठ समिति हुनु पनि त्यस्तै हो । यसलाई स्थानीय तहको समानान्तर निकाय मान्नु भन्दा पनि सहयोगी संस्थाको रुपमा लिनुपर्छ । यस्ता समिति र उनका राम्रा कामहरुलाई प्रश्रय दिनुपर्छ । नराम्रो काम यदि गरेको छ भने हटाउनु पनि पर्छ ।




