| बिहिबार, अशोज ७, २०८३

अतिक्रमित जग्गा फुकुवा गर्न सबैको साथ र सहयोगको खाँचो

डिभिजन वन कार्यालय गोरखाले हिम्मतका साथ अतिक्रमित जग्गा फुकुवा गर्ने अभियान सञ्चालन गर्ने भएको छ । विशेष गरी गोरखा नगरपालिका अन्तर्गतको बाह्रकिलो बजार र अजीरकोट गाउँपालिकाको भच्चेक बजारको अतिक्रमित वन क्षेत्रलाई नियन्त्रणमुक्त बनाउने अभियान डिभिजन वन कार्यालयको छ ।
पहिले भन्दा अहिले हरेक काममा नेताजीहरुको दबाब र प्रभाव रहने गरेको छ । यसलाई लोकतन्त्र र गणतन्त्रको दुर्वल पक्षको रुपमा लिन सकिन्छ । यो महान कार्यमा पनि दलहरु बिभाजित हुनेछन् । नेताहरु बिभाजित हुनेछन् । तर्क बिभाजित हुनेछन् । दबाब र प्रभाव विभाजित हुनेछन् । यसलाई चिरेर वन कार्यालयले खुट्टा दह्रो टेक्न सक्छ कि सक्दैन, आउँदा दिनमा हेर्न पाइनेछ ।
स्थानीय ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समितिले नै राजस्व लिएर बाह्रकिलोको वनमा बजार बिस्तार गरेको थियो । चौतर्फी बिरोध र आलोचना भएपछि केही बर्षअघि वन कार्यालयले घर टहरा हटाएको थियो । अहिले फेरि सडक पेटी अतिक्रमण गरी टहरा बनाएर पसल गर्ने क्रम ज्यादै बढेको छ । वन कार्यालयले यसलाई पुन व्यबस्थित गर्न पहल गरेको हो ।
भच्चेक बजारको पनि कतिपय वन क्षेत्र मिचेर बजार बिस्तार भएको छ । यहाँको घर टहरा हटाउनु पनि फलामको च्यूरा चपाउनु सरह नै हुनेछ । यसलाई व्यबस्थित गर्ने वन कार्यालयको पहल स्वागतयोग्य छ । धेरै ठाउँमा बोलवाला भएकाहरुले सार्बजानिक कब्जा गरेर घर टहरा बनाएका छन् । एकपटक मिचेपछि त्यसको बिरोध र बिद्रोह भन्दा पनि देखासिकी गर्ने गरेको पाइन्छ । अब सो क्रमको अन्त्य गरी सार्वजानिक स्थल नियन्त्रणमुक्त बनाउने अभियानमा सबैले साथ र सहयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्