| बिहिबार, साउन २७, २०८३

सबै वडामा बर्थिङ सेन्टर अपरिहार्य

सरकारको स्वास्थ्य नीतिअनुसार हरेक स्वास्थ्य चौकीमा अनिवार्य रुपमा बर्थिङ सेन्टर हुनुपर्छ । तर गोरखाका २० स्वास्थ्य चौकीमा अहिलेसम्म बर्थिङ सेन्टर सञ्चालन हुन सकेका छैनन् । अर्थात ती स्वास्थ्य चौकी पुग्ने महिलाहरुले प्रसुती सेवा पाउँदैनन् । उनीहरुलाई सुत्केरी हुन अन्यत्र रीफर गरिन्छ । सुगम ठाउँका र आर्थिक अबस्था राम्रो भएका महिलाहरु सुत्केरी हुन सुविधासम्पन्न अस्पतालमा पुग्न सक्छन्, परिवारले लैजान्छन् । तर सडक सञ्जालले समेत नछोएको गोरखाको चुमनुब्री गाउँपालिकाको महिलाहरुलाई सुत्केरी हुन धेरै सकस छ । चुमनुब्रीको सिर्दिबास, छेकम्पार र ल्हो स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालनको अनुमति छ । तर आबश्यक उपकरण तथा दक्ष स्वास्थ्यकर्मीको अभावमा छेकम्पार र ल्होमा बर्थिङ सेन्टर सञ्चालन हुन सकेको छैन । अर्थात् सिंगो गाउँपालिकामा सिर्दिबास स्वास्थ्य चौकीमामात्रै बर्थिङ सेन्टर चलेको छ । गाउँपालिकाको अरु वडाका मानिस त्यहाँ आईपुग्न एक देखि तीन दिनसम्म लाग्छ । सुत्केरी ब्यथा लागेका महिलालाई त्यहाँसम्म ल्याउन सम्भव छैन । त्यसैले गर्भ रहेदेखि बच्चा नजन्माउन्जेलसम्म आमा र बच्चाको अबस्था के रहने भन्ने डर उनीहरुमा रहन्छ । किनकि गाउँमै सुत्केरी हुने ठाउँ छैन, आकस्मिक केहि समस्या आए उपचार पाउने अबस्था छैन । लाखौ रुपैयाँ खर्चेर हेलिकोप्टर चार्टर गरी काठमाण्डौ लगायतका शहरमा पुग्न बाध्य छन् । कतिपय गर्भवती तथा सुत्केरी समयमै उपचार नपाएर मृत्यु भएका खबरहरु आईरहन्छन् । चुमनुब्रीमा आकस्मिक अबस्थाका सुत्केरीको उद्धारका लागि हेलो नेपाल र माउण्टेन चाइल्डसँगको साझेदारीमा हेलिकोप्टरको ब्यबस्था गरिएको छ । तर मौसम खराब भए हेलिकोप्टरबाट उद्धार सम्भव छैन । भन्नासाथ गाउँमा हेलिकोप्टर पुग्दैन । त्यसैले गर्भवती र सुत्केरीको ज्यान जोगाउनका लागि चुमनुब्रीका सबै स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी सहित सुविधासम्पन्न बर्थिङ सेन्टर सञ्चालन गर्न केन्द्र, प्रदेश तथा स्थानीय सरकारले ढिलाई गर्नु हुन्न ।

प्रतिक्रिया दिनुहोस्