गोरखा पार्कभित्र व्यापारिक बिज्ञापन ?
गोरखा संग्रहालयको क्षेत्र(पार्क)भित्र केही महिनाअघि विद्युतीय बोर्ड निर्माण भएको थियो । सो बोर्डको माथिल्लो भागमा रोटरी क्लव अफ गोरखा लेखिएको थियो । दायाँ(बायाँ शिवम सिमेन्ट लेखिएको थियो र बीचमा गोरखा संग्रहालय लेखिएको थियो ।
शिवम सिमेन्ट र रोटरी क्लव अफ गोरखा चाहिँ विद्युत नहुँदा पनि देखिने गरी लेखिएको थियो भने गोरखा संग्रहालय चाहिँ विद्युत आएका बेला मात्र देखिने गरी लेखिएको थियो ।
अहिले सो बोर्डमा विद्युत सेवा बन्द छ । यतिबेला शिवम सिमेन्ट र रोटरी क्लव अफ गोरखाको मात्र नाम देख्न सकिन्छ । गोरखा संग्रहालयको नाम भने देख्न सकिदैन ।
पुरातात्विक क्षेत्रभित्र बाह्य सामग्रीको प्रचार सामग्री राख्न पाइँदैन । संग्रहालयले आफ्नो क्षेत्रभित्र मेला महोत्सवजस्ता बिभिन्न ठूला कार्यक्रम र बन्द बिरोधको समेत पोष्टर पम्प्लेट टाँस्न निषेध गर्ने गर्छ । तर अहिले संग्रहालयको बोर्डको बहानामा राखिएको बोर्डमा संग्रहालयकै नाम छैन, शिवम सिमेन्ट र रोटरी क्लवको नामको मात्र विज्ञापन भएको छ ।
राखेको सामग्री हटाउन गाह्रो हुन्छ तर जुन बहानामा त्यहाँ बोर्ड राखिएको थियो, त्यसलाई पुनर्जिवन दिनु अपरिहार्य छ । यदि त्यसमा विद्युत भएका बेला र नभएका बेला पनि संग्रहालयको नाम देखिने ब्यबस्था गरिएन भनेचाहिँ संग्रहालय तथा पुरातात्विक सम्पदामाथि घोर अन्याय हुनेछ ।
बोर्डको बर्तमान अबस्थाप्रति कतिपय सचेत सर्बसाधारणले फेसबुक जस्ता सामाजिक सञ्जालमा राखेर ब्याङ्ग्यबाण प्रहार गर्न थालेका छन् । त्यसैले समयमै सम्बन्धित निकायको ध्यान जाओस् ।




