विकासे बजेटको खर्च प्रतिशत अझै बढोस्
गोरखामा विकासे बजेटको खर्च तुलनात्मक रुपमा सन्तोषजनक देखिन्छ । अघिल्लो बर्ष पहिलो चौमासिकमा विकास बजेट जम्मा १ प्रतिशत खर्च भएर आलोचना हुँदा यो बर्ष यहि अबधिमा १६ प्रतिशत खर्च भयो । चार महिनामा राष्ट्रिय स्तरमा कुल बजेटको ८ प्रतिशत मात्र खर्च हुँदा जिल्लामा यसको दोब्बर बजेट खर्च हुनुलाई राम्रो मान्न सकिन्छ । विकास निर्माण र पुर्वाधारमा खर्च हुने पुँजिगत बजेट समयमा नै खर्च गर्न सके विकास निर्माणका काम गुणस्तरिय र प्रभावकारी हुन सक्छ । साथै बजेट फ्रिज भएर जान पनि पाउँदैन । बजेटको कार्यान्वयनका लागि यतिखेर स्थानिय तहहरु विकास निर्माणका कामका लागि उपभोक्ता समिति गठन तथा सम्झौतामा ब्यस्त छन् । संघ सरकार अन्तरगतका विकास निर्माणका योजना पनि ठेक्काको प्रक्रियामा छन् । अब विकास निर्माणका कामलाई गति दिन ढिलाई गर्नु हुन्न । सम्बन्धित कर्मचारी, निर्माण ब्यबसायी, स्थानिय बासिन्दा लगायत सरोकारवाला सबैले समयमा नै आफ्नो जिम्मेवारी अनुसारका काम गर्न सके विकासे बजेट खर्च हुन्छ । तर काम सक्ने र भुक्तानी लिने बहानामा कामको गुणस्तर कमजोर हुनसक्छ । यसतर्फ भने सम्बन्धित निकायको निरन्तर अनुगमन जारी छ । सरकारले यो बर्ष ८ प्रतिशत आर्थिक विकासको लक्ष्य लिएको छ । यसका लागि पनि विकासे बजेटहरु खर्च हुनु जरुरी छ । किनकी जति विकास निर्माणका काम हुन्छन् उनि नागरिकले रोजगारी पाउँछन् । र उनिहरुको आयस्तर राम्रो हुनु नै आर्थिक विकासको एउटा आधारका रुपमा लिन सकिन्छ ।




