सेनाको सडकको अनुकरण गर
उत्तरी गोरखा जान दुई फरक ठाउमा सडक निर्माण भइरहेको छ । बेनिघाट आरुघाट लार्के सडकको काम नेपाली सेनाले गरिरहेको छ । नल्याङभञ्ज्याङ, छेकम्पार सिर्दिबास सडक ठेकेदार मार्फत सडक बिभागले नै गरिरहेको छ ।
नेपाली सेनाले काम सुरु गरेको २० महिनामा २० किलोमिटर निर्माण गरेको छ । सडक बिभागले ठेकेदार मार्फत सात बर्षमा जम्मा १८ किलोमिटर निर्माण गरेको छ । नजिकैबाट यो दृष्य हेरेका छेकम्पारका बासिन्दाले आफ्नो ठाउँको सडक पनि नेपाली सेनालाई नै दिन अनुरोध गरिरहेका छन् । तर सरकारले यसको सुनुवाइ गरिरहेको छैन ।
अर्को उदाहरण पनि देख्न सकिन्छ । बारकिलो छेपेटार बारपाक सडकका पाँच मोटरेबल पुल निर्माणको जिम्मा जाइकाले लिएको थियो । उसले निर्धारित समयभन्दा दुई महिना अघि नै पुल निर्माण सम्पन्न गरिसक्यो । सोही सडक दुई बर्षभित्र निर्माण सम्पन्न गरिसक्न समय निर्धारण गरिएको थियो, तर अहिलेसम्म जम्मा २० प्रतिशत मात्र काम भएको छ ।
ठेकेदार सबै अल्छी, ठग हुन्छन, देश डुबाएर आफू बनेका हुन्छन् भन्न खोजिएको होइन । कतिपय ठेकेदारको काम उदाहरणीय नै हुन्छ । ठेकेदारहरु अहिले जिल्ला अदालत निर्माणको काम भइरहेको ठाउँमा हेर्न जानुपर्छ । ठेकेदारले कसरी काम गनुृपर्छ भन्ने राम्रो उदाहरण त्यहाँ छ । जिल्ला प्रशासन कार्यालय निर्माणको कामले पनि वाहवाह पाएकै हो ।
सफल हुन, प्रशंसा कमाउन कसरी काम गर्नुपर्ने रहेछ भनेर ठेकेदारहरु अदालत, सेनाको सडकमा भइरहेको कामको अवलोकन भ्रमण गरुन् र काम सिकुन् ।




