अझै ट्रयाक खन्नै प्राथमिकता
केही समयअघिसम्म भाषण गर्दा डाक्टर बाबुराम भट्टराईले घरघरमा सडक बनाउने होइन, सडकमा घर बनाउने हो भन्थे । विकासको नयाँ मोडल बारे सुन्न पाएपछि स्रोताहरु पर्रर्रर्र ताली बजाउँथे । जनताहरु विकासका नयाँ नयाँ मोडल तथा नयाँ अबधारणा ल्याउने क्षमता भएका नेता भनेर उनलाई मान्थे ।
तर पूर्व प्रधानमन्त्री, अर्थमन्त्री तथा क्षेत्र नं. २ का प्रत्यक्ष निर्बाचित सांसद बाबुराम भट्टराई संयोजक रहेर बाँडफाँड गरिने चार करोड रुपियाँ पनि बुधबार पुरानै ढंग र ढाचामा बाँडफाँड गरिएको छ ।
कूल २० योजनामध्य अधिकांश सडक र केही खानेपानी योजनामा बजेट बाँडिएका छन् । यसअघि क्षेत्र नं. १ का प्रत्यक्ष निर्वाचित सांसद हरिराज अधिकारी संयोजक रहेको समितिले पनि बजेट बाँडफाँट गरिसकेको छ । दुवै सांसदले सडकलाई नै प्राथमिकता दिएका छन् । केही समयअघि डाक्टर भट्टराई अमेरिका र त्यो भन्दा अघि यूरोप र अष्ट्रेलियाको भ्रमण गरेर नयाँ युगको नयाँ मोडलका विकासको अध्ययन अवलोकन भ्रमण गरेर आएका थिए । उनले पनि आफ्नो हातमा डाडुपन्यू भएको चार करोड रुपियाँ पुरानै ढाचाको कार्यक्रममा बाँडफाँड गरेका छन् ।
यसले के देखिएको छ भने नेपाल अझै नयाँ मोडलको विकास गर्न सक्ने युगमा पुगेका छैन । अहिले पनि हाम्रो देश बर्खाका बेला पहिरो निम्त्याउने भीर खन्ने युगमै रहेछ । विकल्प दिनसक्ने नेताले पनि पुरानै शैलीका काम गरेपछि नयाँ मोडलको सम्भावना देखिएन । बरु केही बर्षअघि पूर्व स्थानीय विकास मन्त्री भइसकेका नेता हितराज पाण्डेले सबै बजेट विजुलीका काठेपोल बिस्थापित गर्नमा बाँडफाँड गरेर नयाँ उदाहरण प्रस्तुत गरेका थिए । यस पटक भने कुनै सांसदबाट पनि नयाँ उदाहरण देख्न पाइएन ।




