सामुहिक आवासको दुरुपयोग नहोओस्
२०७२ सालमा भूकम्प गएपछि उद्धार, राहत, पुननिर्माण र पुनस्थापनाका बिभिन्न कार्यक्रमहरु सञ्चालन भए । निरन्तर गएका परकम्पबाट जोगाउन तथा ठूलो भूकम्प गएमा बचाउन भन्दै बिभिन्न ठाउँमा सामुहिक आवास निर्माण गर्ने अबधारणा सरकारले ल्यायो । भूकम्प गएको तीनबर्ष बितिसक्यो कतिपय ठाउँमा अझै सामुहिक आवास निर्माण भइसकेका छैनन् । सम्पन्न भएकाहरु पनि कुनै प्रयोग बिहिन छन् । कतैका सामुहिक आवास झाडीभित्र डुबेका छन् । कतैका सामुहिक आवास बेस्याहार भएका छन् । कतैका सामुहिक आवास गाउँपालिका वा वडा कार्यालय बनेका छन् । कुनै व्यापारीका गोदाम बनेका छन् ।
भूकम्पले बिस्थापन गरेका गरिब, बिपन्न, असहायहरुलाई सामुहिक रुपमा राख्ने अबधारणा अनुसार पालङ्टारमा निर्माण गर्ने भनिएको सामुहिक आवास अहिलेसम्म निर्माण भएको छैन । विवादै विवादका कारण सरकारले कहिले निर्माण गर्ने, कहिले रोक्ने निर्णय गरिरहेको छ । जग निर्माणको चरणमा रहेको सो भवन बारे पछिल्लो चरणमा फरक निर्णय भएको छ । जग निर्माण हुँदाहुँदै सरकारबाट रोक्ने निर्देशन आएको सो भवन निर्माण कार्य नरोक्ने र कृषि क्याम्पसलाई हस्तान्तरण गर्ने निर्णय भएको हो ।
सरकारको ढुलमुलले नीतिको सिकार बनेको सो भवनलाई त कृषि क्याम्पसमा रुपान्तरण गर्ने, गरिब, बिपन्न, असहाय भूकम्प पीडितलाई राख्ने सरकारको मर्म र भावनामाथि भने कुठारापात भएको छ ।
अन्य ठाउँमा अलपत्र बनेका भवनलाई स्याहार सम्भार गर्ने र सदुपयोग गर्ने बारे पनि सम्बन्धित निकायले योजना बनाउनु पर्छ । अहिले जताबाट पनि बजेट हात पर्ने र सामुदायिक भवन निर्माण गर्ने दाउ गर्ने संघसंस्थाले प्रयोग गरे पनि उचित नै हुन्छ ।




