| सोमवार, कार्तिक २३, २०८३

चाडपर्वको मौका छोपी यातायात क्षेत्रमा भएको अनियमितता नियन्त्रण गर

हिन्दू नेपालीहरुको महानपर्व दशैंको पूर्वसन्ध्यामा यात्रु खचाखच भए । सवारीसाधनको अपर्याप्तताको मौका छोपी केही यातायात ब्यबसायी, मजदुरले मनोमानी भाडा असुल गरेर यात्रु ठगे ।
अहिले दशैं मानेर फर्कनेको लहर छ । यतिबेला पनि नियमित चल्ने भन्दा अतिरिक्त चलेका सवारीसाधनले फेरि मनोमानी भाडा लिन थालेका छन् । त्यसैले यतिबेला प्रहरी, टूाफिक प्रहरीले यसबारे अनुसन्धान गर्नुपर्छ ।
त्यतिमात्र होइन, कतिपय सडकमा पर्याप्त सवारी साधन नचलाई सिट क्षमता भन्दा अत्याधिक धेरै यात्रु कोचेर सवारीसाधन चलाइरहेका छन् । यसबारे पनि अनुसन्धान हुनुपर्छ । चाडवाडको मौका छोपी दुईपाङ्ग्रे सवारीसाधनले पनि सिट क्षमताभन्दा धेरै यात्रु राखेर सवारी चलाए । चाडपर्वको बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाएका थिए । यसबाट कडाइपूर्वक चेकजाँच भएको पाइएन ।
कतिपय ठाउँमा सडक जीर्ण छन् । चाड मान्न आवतजावत गर्नेहरुले यस्तै जीर्ण सडकमा जोखिम यात्रा गर्न बाध्य भए । सदरमुकामभित्रको सडक पनि बिभिन्न ठाउँमा जीर्ण भइसकेको छ । हरमटारी चोकको सडक पनि खाल्डाखुल्डी भएर जीर्ण भएको छ ।
माटोको धुलो हालेर खाल्डो पुर्ने जस्तो हास्यास्पद काम भएको हो, तर केहीदिनभै धुलो उँडेर गइसक्यो । सडक फेरि खाल्डोमय छ । यस्ता जीर्ण सडकको पनि अनुगमन, निरीक्षण गरी मर्मतसम्भारमा जोड दिनुपर्छ ।
सरकारले वृद्धि गरेको भन्दा बढाएर भाडा लिए नलिएको, टूाफिक नियम उल्लंघन गरी सवारी चलाए नचलाएको जिल्ला अनुगमन समितिले अनुगमन गर्नुपर्छ । असुरक्षित यात्रा भइरहेको भए नियन्त्रण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्