
केन्द्र सरकारका कारण संघीयता खतरामा : मेयर पन्त
दरौंदी समाचारदाता ः गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले केन्द्रीय सरकारको गतिविधिका कारण संघीय शासन प्रणाली खतरापूर्ण रहेको तर्क गरेका छन् । शनिबार गोरखा उद्योग वाणिज्य संघले आयोजना गरेको चियापान कार्यक्रममा मेयर पन्तले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई अंकुश लगाउन थालेकोमा आपत्ति जनाए । ‘जनताको बीचमा प्रत्यक्ष रुपमा पुग्ने भनेको स्थानीय सरकार हो तर केन्द्र सरकारले स्थानीय तहको घाँटी निमोठेको छ’, उनले भने, ‘७१ प्रतिशत बजेट केन्द्रमा राखेर २९ प्रतिशत बजेट प्रदेश र स्थानीय सरकारलाई दिएको छ । यो संघीयतामाथिको आक्रमण हो । केन्द्र सरकारको रवैयाले जनताले लडेर ल्याएको संघीयता खतरामा छ भन्ने अनुभूति हुन थालेको छ ।’ संघीयता नारामा मात्र लागु भएको व्यबहारमा नभएको उनले तर्क गरे । स्थानीय तहमा कर्म चारी नपठाएर केन्द्र सरकारले जनताले लडेर ल्याएको संघीयता फेल गराउने षड्यन्त्र गरेको उनको आरोप छ ।
संघका अध्यक्ष जीवनज्योति श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जिल्लाका उद्योगी व्यापारीहरुलाई संघ आफैले नियमन गर्न उद्योग वाणिज्य संघलाई आग्रह गरे । अरुले अनुगमन गरेर त्रुटी औल्याउनु भन्दा आफैले गल्ती पत्ता लगाएर सुधार गर्नु वुद्धिमानी हुने उनको भनाइ थियो ।
समारोहमा नेकपाका नेता यादव बस्नेत, जिल्ला समन्वय समितिका सदस्य मानप्रसाद धिताल, गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठ, प्रहरी उपरीक्षक बिमल बस्नेत, संघका प्रथम उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, संघका पूर्व अध्यक्ष इश्वरकाजी मास्के, संघका संस्थापक सचिव धिरजबहादुर मास्के, ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष मोहन लाल श्रेष्ठ, लगायतले शुभ कामना मन्तव्य ब्यक्त गरेका थिए ।




