
शान्तिपूर्ण बनोस् विरोध प्रदर्शन
जेनेरेशन जीको दुई दिने आन्दोलनले मुलुकमा उथलपुथल गरेको छ । आन्दोलनका क्रममा आन्दोलनरत पक्ष र राज्यपक्षका गरी दुई दर्जनभन्दा धेरैले सहादत प्राप्त गरेका छन् । अर्बौँ, खर्बौँको भौतिक संरचना नष्ट भएका छन् ।
कांग्रेस, एमालेको नेतृत्वमा रहेको गठबन्धन सरकार ढलेको छ । मंगलबार बेलुकी अबेरसम्म पनि आन्दोलन चलिरहेको थियो ।
भनिन्छ, रिसमा वेद पढिन्न । दुई दिनमै दुई दर्जनभन्दा धेरैले सहादत पाउने गरी भएको आन्दोलन नेपालको इतिहासमै यो पहिलो हो । त्यस्तै यत्तिका भौतिक पूर्वाधारहरु नष्ट भएको पनि पहिलो पटक नै हो । त्यतिमात्र होइन, दुई दिनको आन्दोलनले सरकार ढल्नु पनि यो पहिलै पटक हो ।
एकातिर आन्दोलनकारीको आक्रोश बढिरहेको छ, अर्कातिर आन्दोलन शान्तिपूर्ण बनाउन सबैतिरबाट आव्हान भइरहेको छ । विद्यमान सरकार ढलिसकेको र वार्ता र संवादद्वारा नयाँ सरकार बनाउने चरणमा मुलुक प्रवेश गरिसकेको अबस्थामा अबका दिनमा हुने आन्दोलन शान्तिपूर्ण बनोस् भन्ने चौतर्फी आव्हान छ ।
चाहे आन्दोलनकारीतर्फ होओस्, वा सुरक्षाकर्मीतर्फ होओस् मानवीय क्षति हुनु पनि दुखद हो, राष्ट्रिय सम्पत्ति नष्ट हुनु पनि दुखद हो । अब यी दुवै अबस्थाको अन्त्य गरी शान्तिपूर्ण आन्दोलन गरी मुलुकलाई सही निकासतर्फ लैजानु पर्दछ ।
अहिले देशले निकास खोजिरहेको छ । संक्रमणका बेला धमिलो पानीमा माछापार्ने दाउ पनि धेरैको हुनसक्छ । त्यसैले अब थप अन्यौलतातर्फ नलगी सही दिशातर्फ मुलुकलाई लैजान वार्ता र संवाद सुरु गर्नु आवश्यक छ । यसमा जिम्मेवार नेता र नेतृत्वको खाँचो छ ।
अहिले खाँचो आगोमा घ्यू थप्नेको होइन, दन्किरहेको आगो साम्य पार्ने नेतृत्वको हो । यो भूमिका मुलुकले चिनेको स्वच्छ छवि भएका व्यक्तित्वहरुले निर्वाह गर्नुपर्दछ ।




