हरेक वडामा हाटवजार खोलौं
वस्तु तथा सेवा खरिदबिक्रीको पुरानो पद्धति हो हाटबजार । यातायातको सहजतासँगै हाटबजारको पुरानो चलन हराएपनि अहिले हुने मेला, महोत्सवलाई हाटबजारको सुधारिएको अभ्यासका रुपमा बुझ्न सकिन्छ । नेपाली समाजमा कृषि हाटबजारको आवश्यकता र महत्व अझै छ भन्ने प्रष्ट पारेको छ, गोरखाको शहिद लखन गाऊँपालीकाको समन्वयमा मनकामनाको रामशाहघाट पारिको सानो बजारमा शुरु हुन लागेको हाटबजारले । सो हाटबजारमा दरौंदी करिडोरका किसानले उत्पादन गरेका कृषि र पशुजन्य उत्पादन बिक्री गर्ने लक्ष्य राखिएको छ । स्थानीय स्तरमै उत्पादन हुने तरकारी, फलफूल र माछामासु जस्ता दैनिक अत्यावश्यक कुरा हाटबजारमा उपलब्ध हुन्छन् । र ति उत्पादन पूर्णतः जैविक हन्छन्रु। नियमित हाटबजार हुने हो भने किसानले उत्पादन गरेका कृषि उपजको बिक्रीको सुनिश्चितता हुन्छ । त्यसका कारण स्थानीय उत्पादन ह्वात्तै बढ्छ । स्थानीय तवरमै हामीलाई चाहिने दैनिक उपभोग्य वस्तु हामी आफैं उत्पादन गर्न सक्छौं । हाटवजारमा सिधै उत्पादक र खरीदकर्ताविच सम्कर्प भएपछि हामी बिचौलिया या बजारसँग सम्पर्कमा रहन आवश्यकै हुँदैन । हामीले तिरेको मूल्य वास्तविक किसानले पाउँछन् । हामीले पनि चरण चरणका बिचौलियाका कारण चर्को मूल्य हालेर कृषि उपज किन्नु पर्दैन । अहिले वजारमा बचौलियाहरूको दादागिरी छ र तरकारी बजारमा त लगभग उनीहरुको एकाधिकार छ । बास्तविक मेहनत किसानले गर्छ, तर बिचौलियाका कारण उपभोक्तासँग उसले सिधा सम्पर्क गर्न पाउँदैन । यति धेरै आवश्यकता र महत्व बोकेको हाटबजारलाई एउटा पुरानो अभ्यास भनेर बेवास्ता गर्नै मिल्दैन । खासमा सबै स्थानीय तहले हरेक वडामा पायक पर्ने गरी एउटा हाटबजार साताको एक दिन मात्रै चलाउने हो भने पनि क्रेता र बिक्रेता दुबैले लाभ लिने मौका मिल्छ ।




