| आइतवार, कार्तिक २२, २०८३

झगडा हैन, व्यवसायी र उपभोक्ताको हितमा लाग

गोरखा उद्योग वाणिज्य संघले अहिलेसम्म नौ वटा गोेरखा महोत्सव गरिसकेको छ । आउँदो पुस महिनामा दसौं गोरखा महोत्सव गर्दैछ । आँबुखैरेनीमा पनि महोत्सव भएको छ । हालै कुरिनटारमा पनि महोत्सव भयो, डुम्रेमा, बन्दीपुरमा पनि भयो । दमौलीमा दमौली महोत्सव र तनहूँ महोत्सव भनेर दुई पटक हुने गर्छ । गोरखा सदरमुकाममा पनि गोरखाकाली महोत्सव भनेर पनि भएको थियो । रमाइलो मेलाको नाममा पनि बेलाबेला मेला हुने गर्छ ।
बिभिन्न आयोजकले मेला र महोत्सवको आयोजना गरिरहन्छन् । महोत्सव भनेको नै सुधारिएको मेला नै हो । गाउँघरतिर हुने हाट बजारको सुधारिएको रुप नै हो । त्यसैले मेला, महोत्सव हुन लाग्दा गोरखा उद्योग वाणिज्य संघले डराउनु पर्ने, तर्सिनु पर्ने कुनै कारण नै छैन । कसैले मेला महोत्सव गर्न लाग्दा बाधा ब्यबधान गर्नु उपयुक्त हुदैन । च्याम्बर अफ कमर्सले पनि अग्रणी संस्था गोरखा उद्योग वाणिज्य संघसंग समन्वय गरेर मेलाको आयोजना गरेको भए उचित हुने थियो । जेठो र धेरै व्यापारीहरु सम्वद्ध संस्था गोरखा उद्योग वाणिज्य संघ हो , त्यसैले संघसंग समन्वय गरेर, संघलाई उचित स्थान दिएर मेलाको आयोजना गरेको भए, संघले अहिले बाधा ब्यबधान सिर्जना सायद गर्ने थिएन । मेलाको मुखमा आएर यी दुई व्यापारीक संस्था बीचको टकराबले उपभोक्ता कसको तर्क सही, कसको तर्क गलत भन्नेमा अन्यौलमा छन् । उपभोक्ताको सामु व्यापारिक संस्था बाझिनु लज्जजनक पनि हुनेछ । जिल्लाका ग्राहक खैरेनी लगायतका बजारमा जाने समस्या दुवै व्यापारिक संस्थाका लागि लाभदायक छैन । त्यसैले ग्राहकलाई किनमेलका लागि बाहिर जिल्लामा जानसक्ने सम्भावनाबाट रोक्न यी दुवै संस्था मिलेर अघि बढ्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्