| सोमवार, कार्तिक २३, २०८३

काँचो सुन्तला न किसानलाई, न उपभोक्तालाई फाइदा

कुनैबेला ‘काँचो रहेछ सुन्तला सानु फल, गर्न पाए यही बोटमा मलजल, काँचो सुन्तला, नटिप्दै सानु यो चाला, टिपे कुनचाला’ भन्ने लोकप्रिय नेपाली लोकगीत जहाँतहीँ सुनिन्थयो । अहिले बजारमा जहाँतहीँ काँचो सुन्तला छ ।

गोरखा बजार, आँबुखैरेनी, मुग्लिन लगायतका बजारमा कात्तिक लाग्ने वित्तिकैदेखि काँचो सुन्तला टिपेर बेच्न राख्न थालिएको थियो । हरियो सुन्तला अमिलो हुनु स्वभाविकै भयो । तर दुखद पक्ष यो छ कि, गोरखाको सुन्तला, मनकामनाको सुन्तला भन्दै हरियो सुन्तला बेच्दा गोरखाको सुन्तला त अमिलो हुने रहेछ भन्ने गलत छाप उपभोक्ताहरुमा पर्छ ।

गोरखाको सुन्तला भनेर अहिले काठमाडौँ, नारायणगढ, पोखरासम्म पनि चर्चित छ । तर हरियो सुन्तलालाई गोरखाको सुन्तला भनेर बेचेपछि गोरखाको सुन्तला अमिलो हुने रहेछ भन्ने पर्नु स्वभाविकै भयो । अनि गोरखा ब्राण्डको सुन्तलाको बदनाम हुने समस्या छ ।

रस र रङ पूर्ण रुपमा नचढ्दै बजारमा आउने जुम्ला, मुस्ताङको स्याउभन्दा उपभोक्ताले विदेशी स्याउ मन पराउनुको कारण पनि यही हो । यदि मुस्ताङ, जुम्लाको स्याउ पनि रस र रङ परिपक्क भइसकेपछि बजारमा आएको भए विदेशबाट आएको भन्दा पक्कै पनि स्वादिष्ट हुने थियो र नेपाली स्याउ विदेशीभन्दा मिठो भन्ने छाप पर्ने थियो । काँचो स्याउले उपभोक्ताको दाँत कुँडिन थालेपछि उनीहरु विदेशी स्याउतिर लाग्छन् । यो बुझेर गोरखाको चुमनुब्री गाउँपालिकाका स्याउ किसानले रस र रङ पूरा चढेपछि मात्र टिपेर बजारमा ल्याए ।

सुन्तलालाई पनि पूरै रस र रङ चढेपछि मात्र टिप्ने गरौँ । पाकेपछि मात्र बजारमा उपभोक्ताको हातहातमा पु¥याउन सकेमा गोरखाको सुन्तलाप्रति उपभोक्ता आकर्षित हुनेछन् । अन्यथा उपभोक्ता गोरखाको सुन्तलासित भड्किन्छन् । यसले न सुन्तला किसानलाई लाभ हुन्छ, काँचो सुन्तलाले न उपभोक्तालाई लाभ हुन्छ । तर धैर्य गरेर परिपक्क भएपछि मात्र सुन्तला बजारमा ल्याउनु वुद्धिमानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्