
एसईई नतिजा : जस्तो कच्चपदार्थ, उस्तै उत्पादन
बजेट भाषण लगत्तै असन्तुष्टि, आलोचना, सुझाव, वितृष्णा, कुण्ठाहरु पोखिने प्रचलन नयाँ होइन । त्यस्तै एसईईको नतिजा सार्वजनिक भएसंगै बर्षेनी असन्तुष्टि, आलोचना, अपजस, कुण्ठा, गाली दिने प्रचलन पनि यथावतै छ ।
बिगतभन्दा यसबर्षको एसईईको नतिजा अलिक फरक नै आयो, त्यसैले विगतको तुलनामा यसबर्ष थप आलोचना, तर्क, बितर्क, कुतर्कहरु अभिव्यक्त गरिएको छ । शिक्षाका अलवा अरु विषयमा उठेको रिस पोख्न पनि अहिले एसईईको नतिजालाई बहाना बनाइएको छ । अर्थात अरु रिसिबी पनि अहिले मौका पारेर पोखिएको छ ।
देशको शिक्षाको गुणस्तर खस्केकोमा कसैको दोराय छैन । यसमा धेरै पक्षको दोष हुनसक्छ । त्यसको मात्र अध्ययन, विश्लेषण गर्ने हो भने लामै अध्ययनपत्र बन्छ । डेढदशक अघिदेखि उदार कक्षोन्नतिको परिपाटी थियो । यसो हुँदा यसरी नै उतीर्ण हुँदै एसईईमा पनि सहभागी बने । एसईईमा पनि उदार परिपाटीकै नतिजा आए । २०७२ पछि भूकम्प राहत पास, कोभिडपछि कोभिड राहत पास भए । राहत पासको परिपाटीले जरा गाड्यो ।
राहत पासबाट उत्पादित जनशक्ति कमजोर हुनु स्वभाविकै भयो । यही जनशक्ति विभिन्न स्थान, तहमा पुगे । जसले मुलुककै कार्यक्षमतामा ह्रास आउनु स्वभाविक भयो । सायद नीति निर्माण गर्ने तहमा समेत यस्तै कमजोर जनशक्ति पुगे । त्यसैले पाठ्यक्रम कमजोर बने, कमजोर पाठ्यपुस्तक छापिए, कमजोर शिक्षक उत्पादन भए, कमजोर समिति, कमजोर अभिभावक, कमजोर वातावरण अनि कमजोर बालबालिकाको उत्पादन भयो ।
यसबर्ष उदार परीक्षा, उदार नतिजाको परिपाटी बन्द भयो र सबैमा कडाइ भएपछि अनपेक्षित नतिजा आयो । गुणस्तरीय नतिजा आउन गुणस्तरीय नीति चाहिन्छ । जस्तो साध्य, उस्तै साधन बन्छ, जस्तो कच्चपदार्थ, त्यस्तै उत्पादन । त्यसैले गुणस्तरीय शिक्षा नीति, गुणस्तरीय कार्यान्वयन, गुणस्तरीय पाठ्यक्रम, गुणस्तरीय पाठ्यपुस्तक हुनुपर्छ । यी सबैको प्रशोधन भएपछि गुणस्तरीय शिक्षक उत्पादन हुन्छ, अभिभावक, नयाँ पुस्ताका बालबालिका सबै गुणस्तरीय हुन्छ । अनि सबैले चाहेजस्तो एसईईको नतिजा पनि गुणस्तरीय हुनसक्छ कि ?




