| सोमवार, कार्तिक २३, २०८३

उत्तरी गोरखाको लाइफ लाइन लार्के सडकलाई पर्याप्त बजेटको खाँचो

गोरखाको तत्कालीन निर्वाचन क्षेत्र नं १ र ३ लाई समेट्ने लक्ष्यका साथ बेनिघाट आरुघाट सडक निर्माणको काम आजभन्दा ३० बर्षअघि सुरु गरिएको हो । सो बाटो निर्माणको क्रममा त्यतिबेला युद्धरत माओवादीले सडक निर्माण गरिरहेको एक सहयोगी सँस्थाको १७ लाख रुपैया लुटेको थियो । जसोतसो, ढिलोछिटो आरुघाटसम्म सडक निर्माण भयो ।

आरुघाटसम्म खनिएको सडक बिस्तारै आरखेत, सोती हुदै अझै माथिमाथि अघि बढ्यो । अर्मला हावाडाँडा पुगेपछि सडक विभागले भन्दा सेनाले निर्माण गर्दा सहज हुने अनुमान भयो । २०७४ सालमा सडक विभागले नेपाली सेनालाई सो सडक निर्माणको जिम्मा दियो । ठेकेदारले निर्माण गर्दा पहरो फुटाउनु ज्यादै कठिन, ज्यादै लामो प्रक्रिया चाहिने हुँदा सेनालाई दिनु उपयुक्त हुन्छ भन्ने ठानी सेनालाई सडक निर्माण गर्न दिइयो ।

बेनिघाटदेखि लार्केसम्मको कूल १५४ किलोमिटर सर्वे भएको खण्डमध्य बेनिघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटर सडक सडक विभागले निर्माण गरेको थियो । बाँकी ९२ किलोमिटर सडक सेनाले जिम्मा लिएको हो । त्यसमध्य यो सात बर्षको अवधिमा ३५ किलोमिटर सडक सेनाले निर्माण गरिसकेको छ ।

३५ किलोमिटर खण्ड (पाङसिङ)सम्म गाडी चल्न थालिसकेको पनि छ । अझै सेनाले न्याकफेदीभन्दा माथि सम्म सडक निर्माण गरिसकेको छ । यो सडक गोरखाको दुर्गम भेगको लाईफलाइन हो । यही सडकले आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकालाई सडक सञ्जालसँग जोड्छ । यही सडकले त्यस भेगमा दैनिक उपभोग्य सामान ढुवानीमा सघाउँछ । यसभेगका बासिन्दा बिरामी वा घाइते भएमा महंगो भाडा तिरेर हेलिकोप्टर चार्टर गरी उपचार सेवा लिन अस्पताल जानुपर्ने बाध्यता छ ।

यो सडक निर्माण सम्पन्न भएमा यो समस्या समाधान हुनेछ । अथवा दुर्गमको जनजीवन सहज हुनेछ । त्यतिमात्र होइन, यो राजमार्ग चीन र भारत जोड्ने अति छोटो राजमार्ग हो । यो सडक बनेमा छिमेकी देशसँग व्यापारिक सम्बन्ध बिस्तार हुनेछ । त्यसैले यो सडक गोरखाको दुर्गम भेगको लाईफलाइन हो । तर बिडम्बना के छ भने, दुई देश जोड्ने यो सडक निर्माणका लागि सरकारले अति न्युन बजेट बिनियोजन गर्छ । पर्याप्त बजेट बिनियोजन गरी छिटोभन्दा छिटो यो राजमार्ग निर्माण सम्पन्न गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्