| सोमवार, कार्तिक २३, २०८३

ऐन कानून थाहा छैन भन्ने छुट छैन

एकातिर ‘गल्ती गर्नु मानवीय गुण हो, तर दोहो¥याउनुचाहिँ अपराध हो’ भनिन्छ । अर्कातिर कानूनको भाषामा ‘ऐन, कानून थाहा पाइएन भन्ने छुट कसैलाई पनि छैन’ भनिन्छ । उपरोक्त दुवै उक्तिहरु यथार्थ हुन्, तर पहिलो यथार्थ अनौपचारिक हो, अलिखित हो । दोस्रो यथार्थचाहिँ लिखित हो, औपचारिक हो । त्यसैले पहिलो सत्यको भन्दा दोस्रो सत्यप्रति सचेत रहनु पर्छ ।

यही सन्दर्भमा केही दिनअघि सिरानचोक गाउँपालिका–७ अमिलेडाँडाका चार जना आत्महत्या दुरुत्साहन कसुरमा चार जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध गोरखा जिल्ला अदालतमा मुद्दा दर्ता भई अनुसन्धानको प्रक्रिया अघि बढिसकेको छ ।
स्थानीय एक ७१ बर्षीय मनबहादुर खड्काले गत शनिवार घर नजिकै खनायोको रुखमा डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरे ।

उनलाई आत्महत्या गर्न दुरुत्साहन दिएको भन्दै मृतकका छोराले दिएको जाहेरीको आधारमा प्रहरीले सोही वडाका ५५ बर्षीया वुद्धिकुमारी गुरुङ, ६० बर्षीय रुपकाजी भन्ने सन्तबहादुर गुरुङ, ४५ बर्षीय मिनु गुरुङ र पुष्पा कुमारी गुरुङलाई पक्राउ गरेको हो ।

गत आइतवार पक्राउ परेका उनीहरुलाई सोमवार आत्महत्या गर्न दुरुत्साहन दिएको कसूर शीर्षकमा मुद्दा दर्ता भएको छ ।
७१ बर्षका वृद्धले कुनै एक महिलामाथि बक्रदृष्टि लगाएको, बक्रबात गरेको आरोप लगाएर गाउँमा कचहरी गरी उनलाई १५ हजार रुपैयाँ दण्ड जरिबाना तिराएका थिए । तर आफूमाथि मिथ्या आरोप लगाएर अपमानित गरियो भन्दै मनमा असह्य चोट पाली खड्काले आत्महत्या गरेका परिवारजनको भनाइ छ ।

यस्ता घटना गाउँमा मिलापत्र गर्ने घटना हुदै होइन, तर उनीहरुले कसैमाथि मिथ्या आरोप लगाएर पैसा तिराए । यो आरोपमा उनीहरु अहिले अनुसन्धानको दायरामा छन् । त्यसैले के गर्न हुन्छ, के गर्न हुदैन, जस्ता कुराहरु जान्नु, बुझ्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्