बालुवा चोरहरुले शीर ठाडो पार्न नसकुन्
चोर भनेर प्रमाणित भएकाहरु समाजमा शीर ठाडो गरेर हिड्न सक्छन् कि सक्दैनन् ? प्रमाणित भइसकेपछि अरु बस्तुका चोरहरु लाज शरमले तर्किर हिड्छन् । तर हाम्रो समाजमा बालुवा चोर्ने प्रमाणित चोरचाहिँ शीर ठाडो पारेर हिडिरहेका छन् । त्यतिमात्रै होइन, बालुवाका तस्कहरु सर्बसाधारण नागरिकलाई शीर ठाडो गर्न नदिने गरेका छन् । यसमा के रहस्य छ, खोजको बिषय हो । चोरेर, लुटेर, सिधासाधालाई थर्काएर, धम्क्याएर खान पल्केका बालुवा चोरहरु केही दिनदेखि नदी खोलाकिनारमा टूयाक्टर हुल्न थालेका छन् । खोला, नदी किनारमा स्थानीयबासी सबैको उत्तिकै हक अधिकार लाग्छ तर बालुवा चोरहरु नदी किनारलाई आफ्नै बिर्ता ठानेर प्राकृतिक सम्पदा लुटिरहेका छन् । प्राकृतिक सम्पदाको संरक्षण गर्ने बारे कोही बोले भने डरत्रास धाकधम्की देखाएर चोरहरुले नै समाजमा हैकम जमाएका हुन्छन् । सरकारले असार १ गतेदेखि भदौ १५ गतेसम्म नदीजन्य सामग्री उत्खनन, संकलन गर्न मनाही गरेको छ तर बालुवा चोरहरुले अहिले नै नदी किनारमा बालुवा चोर्न थालेका छन् । चोरी तस्करी बढ्न थालेपछि प्रहरी एसपी रातको समयमा आफै गस्ती हिड्न थालेका छन् । दिनभरिको ब्यबस्तताको बाबजुद प्रहरी प्रमुख राती १, २ बजेसम्म नदी किनारको गस्तीमा हिड्न थालेका छन् । संरक्षणको जिम्मा प्रहरीको हो, तर प्रहरीको मात्रै होइन । संरक्षणको पहिलो दायित्व तस्थानीय तहको हो । स्थानीय तहले उत्खननका लागि हदैसम्मको सहज वातावरण बनाउने होइन, संरक्षणमा ध्यान दिनुपर्छ । प्राकृतिक सम्पदा दोहनले प्राकृतिक विपत्ती आउन सक्छ । त्यसैले दोहनमा होइन, संरक्षणमा जोड दिनुपर्छ ।




