| सोमवार, कार्तिक २३, २०८३

सिद्ध बाबाको मन्दिर संरक्षण र संवद्र्धनको पर्खाइमा

पालुङ्टार नगरपालिका ८ र ९ को साँधतिर अवस्थित सिद्ध बाबाको थान(मन्दिर) र संगै रहेको कोट संरक्षणको पर्खाइमा छ । यहाँको कोटलाई धुवाँकोट भनिन्छ ।

यसकै नाउँबाट यसअघि साविक धुवाँकोट गाविस भनेर नाम राखिएको थियो ।
सिद्ध बाबा यस क्षेत्रमा निकै चर्चित मन्दिर हो । साविक धुवाँकोट, देउराली, मिरकोट, गाईखुर लगायतका गाउँबाट यहाँ पूजाआजा गर्न जाने चलन थियो ।

अहिले यहाँसम्म पुग्ने सडक निर्माण नहुनु र यातायातको साधनबिना मान्छेहरु आवतजावत नगर्नुले गर्दा धेरै टाढाका भक्तजनहरु यहाँ पुग्दैनन् ।

धुवाँकोट डाँडाको टुप्पामा ढुंगैढुंगाको ककेरामा सिद्धबाबाको थान (मन्दिर) छ । झण्डै दुईहजार मिटर उचाइमा रहेको यो मन्दिर बिल्कुल प्राकृतिक छ ।

मानवबस्तीबाट यहाँ पुग्न झण्डै तीनदेखि चारघण्टासम्म लाग्छ । यहाँ मन्दिरको कृतिम भवन तथा अन्य कृतिम संरचना केही छैन । एउटा पिपलको फेदमा गुफा छ, गुफाभित्र पुजारी मात्र गएर पूजा गर्नुपर्दछ ।

पुजारी हुनका लागि पनि कठोर व्यवस्था छ । विवाहित व्यक्तिले पूजा गर्न पाउँदैनन् । मगर र गुरुङबाहेक अरुले पूजा गर्न पनि हुदैन भन्ने प्रचलन छ ।

अविवाहित गुरुङ वा मगर किशोर तथा युवाहरुले सिद्धको पूजा गर्नुपर्छ । बिहानैदेखि पानीसमेत नखाई गाउँभरिको अक्षताभेटी बोकेर झण्डै तीन, चारघण्टाको उकालो बाटो हिडेर सिद्धबाबाको थान पुग्न सकिन्छ । कष्ट गरेर पूजा गरे मात्र वरदान, सुख पाइन्छ भन्ने जनविश्वासका कारण पनि युवाहरु पूजाआजामा सरिक हुन्छन् ।

चार घण्टा भारी बोकेर मन्दिर पुगेका भक्तजनहरु थानमा पुगेपछि झरी प¥यो वा टण्टलापुर घाम लाग्यो भने बिचल्ली हुन्छ, किनभने मन्दिरमा छानो भएको संरचना छैन ।

वरिपरि घेराबारको अत्यन्त खाँचो छ, खानेपानी अपरिहार्य छ । तसर्थ यसप्रति पालिका, प्रदेश तथा संघ सरकारले बजेट तथा कार्यक्रम बनाएर माग गर्नुपर्छ । साथै सबैले होस्टेमा हैँसे गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्