
आँबुखैरेनीमा किन दिनहूँ लागुऔषध कारोबारी पक्राउ पर्छन् ?
केही महिनाअघि त्यहाँको इलाका प्रहरी कार्यालयका इञ्चार्ज नयाँ आएपछि आँबुखैरेनीमा लागुऔषध व्यवसायी धमाधम पक्राउ पर्न थालेका छन् ।
लागुऔषध प्रयोगकर्ता बरु अरु ठाउँमा पनि हुन सक्छन्, तर त्यहाँ लागुऔषध व्यवसाय गर्ने मान्छेहरु ठूलो संख्यामा पक्राउ परेका छन् ।
यसअघि पनि पक्राउ पर्थे र समाचार बाहिर आउँदैनथ्यो वा त्यतिबेला पक्राउ पर्दैनथे र अहिले मात्र पक्राउ पर्न थालेका हुन् यो विषय नेपथ्यामा छ ।
यदि यसअघि पनि अहिले जसरी नै दिनहूँ चेकजाँच र पक्राउ, बरामद भएको भए अहिलेसम्म उनीहरुको गतिविधि घटिसक्ने थियो । अथवा दिनहूँ उनीहरु पक्राउ पर्नु पर्ने अबस्था आउँदैनथ्यो ।
मुग्लिनबाट आँबुखैरेनीसम्मको रुटमा प्रहरीले चेकजाँचमा कडाइ गर्न थालेपछि हरदिन एक, दुई, तीन, चार जना लागुऔषध ओसारपोसार गर्नेहरु पक्राउ पर्न थालेका छन् ।
प्रहरीले निकै मिहिनेत गरेर लागुऔषधका कारोबारीहरुलाई पक्राउ गर्छ तर, बिडम्बना यस्तो छ, कि जोखिम मलेर पक्राउ गरेका छन् । मिहिनेत गरे, खर्च गरेर जिल्ला पठाएका हुन्छन्, तर जिल्लाले हल्काफुल्का रुपमा लिन्छ र केही दिनपछि छाडिदिन्छ ।
यस्तो हुँदा गलत गर्नेको सँधै आत्मबल बढिरहेको हुन्छ भने नीति, नियम, कानून परिपालना गर्नुपर्छ भन्नेहरु निराश भइरहन्छन् ।
यो त सामान्य एउटा उदाहरण मात्र हो । प्रहरीले कानून परिपालना गर्ने क्रममा कतिपय मान्छेलाई नियन्त्रणमा लिन्छ, कसै, कतैबाट प्रभावित नभई कानूनी बाटो अपनाउँछ, तर माथिल्लो निकायले प्रहरीको यस्ता कामलाई प्रोत्साहन गर्नुको साटो हतोत्साही हुने गरी छिट्टै घर फर्काइदिन्छ । यसले गर्दा प्रहरीलाई फेरिफेरि त्यस्ता अभियुक्तलाई पक्राउ गर्ने कि नगर्ने भन्ने समस्या पर्छ ।
आँबुखैरेनीको बाटो हुँदै यस्ता लागु औषध ओसारपोसार हुने क्रम बढ्नु निकै दुखद छ । यसलाई अन्त्य गर्न सामुहिक पहलको खाँचो छ ।




