
गुणस्तरीय सिसिटिभी जडान गर
केही महिनाअघि मात्र करिव पाँच लाख खर्चेर मर्मत गरिएको गोरखा बजारमा जडित सिसिटिभीहरु बिग्रन थालिसकेका छन् । सिसिटिभी मर्मत र जडानको जिम्मा लिने निकायको लापरवाही यसमा छर्लङ्ग छ ।
होइन भने केही महिना नबित्दै कसरी बिग्रन्छन् ती नवजडित र मर्मत गरिएका क्यामेराहरु ? यसबारे छानविन आवश्यक छ, साथमा सिसिटिभीको गुणस्तरमा पनि ध्यान दिन उत्तिकै आवश्यक छ ।
जिल्लामा हुने चोरी, लुटपाट तथा अपराधिक घटनाको अनुसन्धानमा सिसिटिभीको भूमिका अहम नै छ । सिसिटिभी फुटेजकै कारण कतिपय घटनाका दोषीहरु पक्राउ परेका पनि छन् ।
त्यति मात्र होइन जडान भएका सिसिटिभीले अपराधिक क्रियाकलापमा संलग्न गिरोहहरुलाई पनि सजग गराएकै छ । गोरखा बजार क्षेत्रमा हालसम्म सिसिटिभीकै नाममा लाखौ रकम खर्च भइसक्यो ।
तर खर्च अनुसारको प्रतिफल भने छैन । जिल्लामा चोरीका घट्ना बढ्दो छ । केही दिन अघि मात्र बजार क्षेत्रबाटै श्रृंखलावद्ध रुपमा बाइक चोरी भए । जडान भएका सिसिटिभी गुणस्तरीय नहुदाँ सिसिटिभी फुजेटबाट चोरीमा संलग्नको पहिचान गर्न सकिएन । अहिलेसम्म चोर पत्ता लागेको छैन ।
रातको समयमा पनि प्रष्ट देखिने खालको गुणस्तरीय सिसिटिभी जडान भएको भए चोर पत्ता लागिसक्ने थियो । त्यसैले नामको मात्र सिसिटिभी जडान गरेर त्यसका लागी खर्च गर्नु व्यर्थ छ ।
अपराधिक क्रियाकलाप न्यूनिकरण गर्दै शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याउने सिसिटिभी अहिले अपरिहार्य जस्तै भइसक्यो । यसको महत्वलाई मनन गर्दै बजार क्षेत्रमा जडित सिसिटिभीहरु चुस्त दुरुस्त राख्नुपर्छ ।
बिग्रिएको सिसिटिभीको मर्मत गर्ने र जडान गर्दा गुणस्तरीय क्यामेरा जडान गरे जुन उदेश्यले सिसिटिभी जडान भएको हो त्यो उदेश्य पुरा हुनेमा कुनै दोमन छैन । सिसिटिभीको नाममा भएको खर्चको सही सदुपयोग होस् ।




