| सोमवार, कार्तिक २३, २०८३

पदयात्राको नयाँ गन्तब्य बन्न सक्छ गोरखा–जितगढी

उजीरसिँह थापाको नेतृत्वमा रहेको नेपाली सेनाको फौजले अंग्रेज फौज (इष्ट इण्डिया कम्पनी)लाई बि.सं. १८७१ म परास्त गरेको, हाल रुपन्देही जिल्लाको बुटबल उपमहानगर पालिकामा पर्ने नेपाली सेनाको शीर ठाडो पार्ने प्रसिद्ध ऐतिहासिक गढी हो जितगढी ।

यसको परिचय गराउने, यसको महत्व उजागर गर्ने उद्देश्यले नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि जितगढीसम्मको पदयात्रा नेपाली सेनाले पहिलो पटक आयोजना गर्दैछ । एकिकरणको सन्र्दभलाई लिएर नेपाली सेनाले चैत २९ देखि बैशाख ७ गतेसम्म यो यात्रा सुरु गर्न लागेको हो ।

ऐतहासिक स्थलहरुको पर्यटन विकासका लागि नेपाली सेनाले बिगत केही बर्षदेखि तदारुकता देखाउँदै आएको छ । नयाँ पुस्ताले उक्त पदमार्गमा युगौँसम्म पदयात्रा गर्दैगर्दा नेपालकालागि सेनाले गरेको योगदानको पनि स्मरण हुन सक्छ र इतिहास बुझ्ने अवसर पनि पाउँछन् । साथै यो एउटा नयाँ गन्तब्यको रुपमा बिकास हुँदा प्रत्यक्ष परोक्ष रुपमा बहुआयामिक फाईदा लिन सकिन्छ ।

नेपाल एकीकरणको शुभारम्भ भएको जिल्ला गोरखा भएकाले धेरै यात्रा, अभियान र एकिकरणको सन्र्दभमा गोरखा जोडिनु स्वभाविक हो । ठूलोआँगनमा नवनिर्मित पृथ्वीनारायण शाहको सालिकमा गरिने राष्ट्रनिर्माता सलामी, गोरखा दरबारबाट हनुमानढोका दरबारसम्म फुलपाती लैजाने काममा पनि नेपाली सेनाले अग्रसरता लिएको छ । त्यस्तै गोरखा दरबारबाट धादिङ, नुवाकोट हुँदै राजधानीसम्म एकिकरण पदमार्गमा पदयात्रा गर्ने, श्रीनाथकोटको प्रवद्र्धनजस्ता थुप्रै गतिविधि यसअघिदेखि गर्दै आएको छ ।

तर पनि गोरखाले धार्मिक, ऐतिहासिक रुपमा जुन चर्चा पाउनुपर्ने त्यो नपाएको, ऐतिहासिक बस्तुहरुको संरक्षण हुन नसकेको, पर्यटक भित्र्याउन नसकेको जस्ता गुनासो यहाँका स्थानीयले गरिरहन्छन् । पछिल्लो समय बिभिन्न कालखण्डमा इतिहासलाई जोडेर नयाँ गन्तब्यको बिकास र प्रर्वद्धनका कार्यक्रम भएका छन् । भलै त्यो अपुग भने छ । तर नेपाल एकीकरणको इतिहाससँग जोडिएर सुरु भएका तथा भविष्यमा हुन लागेका यात्राले भने इतिहास पुस्तान्तरण गर्न मद्दत पुग्छ । पुर्खाको योगदानको कदर र सम्मान हुन सक्छ ।

गोरखादेखि तनहुँ, पाल्पा हुँदै जितगढीसम्मको यात्राले फेरि गोरखाको चर्चा सबैतिर हुने भएको छ । हरेक महिनाजसो भइरहने कुनै न कुनै ‘ईभेन्ट’ले गोरखा र एकीकरणलाई जोड्न थालेको छ । यसमा नेपाली सेना, स्थानीय सरकार, बिभिन्न निकाय जोडिँदै आएका छन् । स्थानीयको पनि यस्ता गतिविधिमा सक्रिय सहभागिता हुनुपर्छ । यसले इतिहासको जगेर्ना त गर्छ नै फाईदा लिने पहिलो हकदार पनि गोर्खाली नै हुनेछन् । बिरताको प्रतिकको रुपमा विश्व परिचित गोर्खाली हामी इतिहासको संरक्षणसँगै त्यसबाट लिने लाभमा एकजुट हुनुपर्छ, चुक्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्