
संघीयताको सौन्दर्य, मौलिकता झल्किने विधेयक
संघीयताको औचित्यबारेको बहश अहिले थाती राखौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ बमोजिम गठित स्थानीय तहका केही अभ्यास अत्यन्त सुन्दर छन् ।
यसको एउटा पछिल्लो उदाहरण हो, चुमनुब्री गाउँपालिकाले पारित गरेको ‘स्याग्या’ र ‘आम्जी’ सम्बन्धी विधेयक २०७९ ।
उत्तरी गोरखाको चुमनुब्री क्षेत्रमा आम्जीद्वारा उपचार गर्ने पद्धति प्रचलनमा छ । कलेबर मात्र बुझ्दा आम्जीले उपचार गर्ने विधि परम्परावादी हो, रुढिवादी हो जस्तो लाग्न सक्छ ।
यो विधिले उपचार गर्ने प्रचलन दुर्गम भेगमा मात्र प्रचलित छ जस्तो पनि लाग्न सक्छ, तर चुरो कुरो यो होइन । आम्जीले काठमाडौँमा पनि थुप्रै ठाउँमा उपचार केन्द्र खोलेर सेवा दिइरहेका छन् । नेपाल सरकारलेसमेत वैकल्पिक उपचार विधि भनेर आम्जीको ‘सोवारिग्पा’ पद्धतिलाई मान्यता दिएको छ ।
त्यसैलाई आधार बनाएर चुमनुब्री गाउँपालिकाले पनि वैधानिकता दिएको हो । विधेयक पास भएपछि अब चुमनुब्रीमा आम्जीले व्यवसाय दर्ता गरेर क्लिनिक, औषधालय वा सानोतिनो अस्पतालसमेत सञ्चालन गर्न सक्नेछन् । खासमा आम्जी भनेको मंगोलियन भाषामा ‘डाक्टर’ हो ।
आम्जीले उपचार गर्ने पद्धतिलाई ‘सोवारिग्पा’ भनिन्छ । आम्जीलाई सयौँ बर्षअघि तिब्बतका राजाले औषधीउपचार गर्न स्वास्थ्यकर्मीहरुमार्फत आविष्कार गराएको विधि भनेर चिनिन्छ । आयुर्वेदिक औषधी, अकुपञ्चर र युनानी उपचार विधिको असल अभ्यासको मिश्रित रुप ‘सोवारिग्पा’ हो ।
सोवारिग्पा लोकप्रिय भएपछि तिब्बतबाट भुटान, मंगोलिया तथा नेपालको हिमाली भेगमा फैलिएको हो । आम्जीले वनस्पति, जडिबुटी, वन्यजन्तुका केही अंग, माटो, चट्टान जस्ता खनिज, तान्त्रिक विद्या र अकुपञ्चरको प्रयोग गरी रोगको उपचार गर्ने गर्छन् ।
‘स्याग्या’ परम्परालाई पनि पालिकाले कानून मान्यता दिएको छ । प्राणीको शारीरिक तथा मानसिक हिंसा अन्त्य गर्न बिगत एकसय एक बर्षदेखि अपनाइएको ‘स्याग्या’ परम्परालाई कानूनी मान्यता दिएको हो । स्थानीय उपचार पद्धति तथा मौलिक परम्परालाई कानूनी मान्यता दिएर पालिकाले संघीयताको सुन्दर ढंगले उपयोग गर्नु स्वागतयोग्य छ




