| सोमवार, कार्तिक २३, २०८३

दयाले मात्र होइन, महिलाहरु क्षमताले स्थापित हुनुपर्छ

अहिले विश्वभर महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । यो अभियानका अवसरमा विभिन्न पालिकाहरुमा, गाउँबस्तीहरुमा महिलामाथि हुने गरेका लैंगिक हिँसा, यौनिक हिँसाको चर्चा, परिचर्चा गर्दै महिला हक, हित, अधिकार स्थापनाका विषयमा आवाज उठ्ने गरेका छन् ।

अहिले नै धमाधम निर्वाचनको नतिजामा फलानाले जिते, ढिस्कानाले जिते भन्ने नाम घोषणा भइरहेको छ । भाषण प्रतियोगिता जस्ता आभाष हुने ती कार्यक्रममा महिलाका पक्षमा जसले जे बोले पनि निर्वाचनको नतिजा घोषणा भइरहँदा महिलाका नाम प्राय सुनिएका छैनन् । यो परस्पर विरोधाभाषी काम संगसंगै भइरहेको प्रसंगसंग मिल्दोजुल्दो अर्को प्रसंग पनि छ । उम्मेद्वारको नाम(टिकट) सिफारिस गर्ने तहमा सबै पार्टीमा पुरुष छन् ।

उनीहरुका आसपास रहेका महिला नेतृहरु महिलाकै भरोसा गर्दैनन् र पुरुषको नाममा जोडबल गरिरहन्छन् । यो पुरुष, यो नभए त्यो पुरुष भनेर उनीहरुले सिफारिस गरिरहन्छन् । तर महिलाको नाम सिफारिस गर्दैनन् । त्यसको नतिजा सबैले देखेकै हो, प्राय सबै उम्मेदवार पुरुष छन् । फलस्वरुप अहिले समानुपातिकबाट सांसद हुनेमा प्राय सबै महिला नै हुँदैछन् । यो कुनै एउटा मात्र पार्टीको अबस्था होइन, सबै पार्टीको हो ।

महिला हिँसाविरुद्धको १६ दिने अभियान मनाउन थालेको पनि धेरै बर्ष भयो । अन्तर्राष्टिूय श्रमिक महिला दिवस मनाउन थालेको पनि अझै धेरै बर्ष भयो । ती कार्यक्रमहरुमा भाषण गर्ने सबैले केवल भाषण प्रतियोगितामा आफ्नो वाक्कला, वाक्पटुवा प्रदर्शन गर्न मात्र राम्रा कुरा बोल्छन् ।

कार्यान्वयन गर्नका लागि बोल्दैनन् । महिलाका पक्षमा पुरुषले मात्र होइन, महिला स्वयंले पनि काम गरेको हुँदैनन् । प्रतिस्पर्धामा महिलालाई अघि सार्न पुरुष, महिला स्वयं नै हिच्किचाउने हुँदा समानुपातिक, समावेशिता जस्ता अवधारणा नभएको भए संसद पुरुषहरुको मात्र हुनेथियो । यो समस्या समाधानका लागि महिलाहरु हक र अधिकारका लागि आवाज उठाउने मात्र होइन, सशक्त हुन पनि जोड बल गर्नुपर्छ । सशक्त महिला भए कसैको निगाहामा होइन, क्षमताले अग्रस्थान ओगट्नेछन् ।

प्रतिक्रिया दिनुहोस्