| सोमवार, कार्तिक २३, २०८३

सबै नयाँ सुन्दर हुँदैनन, सबै पुराना थोत्रा हुँदैनन्

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन भएको आज ठ्याक्कै एक हप्ता बित्यो । एकहप्तासम्म पनि मतगणना सम्पन्न भइसकेको छैन । अहिलेसम्मको गणना(गणित हेर्दा देशबासीले देशमा आमूल परिवर्तन चाहेका छन् भन्ने स्पष्ट देखिन्छ ।

स्थापित भनिएका धेरै अनुहारहरू रुग्ण छन्, जीर्ण छन्, शुष्क छन्, जर्जर, बञ्जर छन् त्यसैले ती बदनाम चरित्रले देशको मुहार फेर्न सक्दैनन् भनेर मतदाताले संसद् र सरकारमा नयाँ पात्रहरु पठाउन चाहेको देखिन्छ । नयाँ राष्ट्रिय र क्षेत्रीय शक्तिहरू उदाउनु यसकै परिणति हो ।

अघिल्लो चुनावका तुलनामा एमाले र माओवादी केन्द्रको सिट संख्या नै उल्लेख्य घटेको देखिएको छ भने कांग्रेसले पनि समानुपातिक मत राम्रैसँग गुमाउँदै गएको छ । यस क्रममा केही महिनाअघि मात्र खुलेको राष्टिूय स्वतन्त्र पार्टी माओवादी हाराहारीको नयाँ शक्ति बनेर उदाउँदै छ ।

उता मधेशमा जनाधार भएका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी खुम्चिँदै गर्दा त्यहाँ जनमत पार्टी उदाएको छ भने सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले जग हाल्दै छ ।

यति भनिरहँदा सबै पुराना पात्रहरु निकम्मा छन्, सबै नयाँ पात्रहरु अत्यन्त सम्भावना बोकेका जाज्वल्यमान छन् भन्ने दुस्साहस गरिएको छैन । पुराना पात्रहरु दशकौं राजनीतिक मार्गमा दौडिँदा दौडिँदा, घोटिँदा घोटिँदा पोख्त भएका पनि छन्, खप्पिस भएका पनि छन् । नयाँ पात्रहरुले लामो समय लाएर समाधान गर्न सक्ने समस्या उनीहरु क्षणभरमै समाधान गर्न सक्ने अनुभव भएका पनि छन् ।

फरक के मात्र हो भने राजनीतिलाई सदुपयोग गरेर देश निर्माणका लागि काम गर्ने परिपक्व ज्येष्ठ पनि नयाँ पनि अनुहारलाई छान्नु पर्छ । हाहा र हुहुमा अल्लरे आवेश र भावावेशले मात्र पनि मुलुक बन्दैन । सामाजिक सञ्जालले मात्र पनि मुलुक बन्दैन । टेक्नोक्य्राटले मात्र पनि मुलक बन्दैन । त्यसैले आमले सबैतिर जाँचेर, बुझेर मात्र निर्णय लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्