
घोषणापत्र बालुवामा होइन, ढुंगामा कोरिएको अक्षर बनोस्
देशमा मतगणना चलिरहेको छ, गोरखाको मतगणना सम्पन्न भएको छ । यो निर्वाचनले गोरखाले एउटा नेपाली राजनीतिका शीर्ष नेता पाएको छ । क्षेत्र नं. २ बाट कांग्रेस र माओवादी मिलाएर पुष्पकमल दाहाल प्रचण्डलाई आगामि पाँच बर्षका लागि आफ्नो जनप्रतिनिधि बनाएर पठाएका छन् ।
२६,१०१ मत पाएर प्रचण्ड गोरखाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न जाँदैछन् । राष्टू हाँक्ने ठाउँमा पुग्ने व्यक्तित्वलाई आफ्नो क्षेत्रबाट जिताएर पठाउन पाउँदा गोरखा २ का मतदाता प्रसन्न छन् ।
गोरखा १ बाट माओवादी र कांग्रेस मिलेर कांग्रेसका युवा नेता राजेन्द्र बजगाईँलाई प्रतिनिधिसभामा पठाएका छन् । ३३,४२८ मत ल्याएर उनी विजयी भएका हुन् । दुर्गम भेगको कथा व्यथामा संवेदनशील हुने, युवाका माझ लोकप्रिय बजगाईँसंग गोरखा १ का बासिन्दा धेरै आशावादी छन् ।
त्यस्तै गोरखा १ को प्रदेशसभा १ बाट माओवादीका नेता कृष्ण धिताल १५,४५६ मत प्राप्त गरी विजयी भएका हुन् । १ को प्रदेशसभा २ बाट नन्दप्रसाद न्यौपाने १६,२६१ मत ल्याएर विजयी बनेका छन् । गोरखा २ को प्रदेशसभा १ बाट नेपाल समाजवादी पार्टीका फणिन्द्रराज देवकोटा १२,४११ मत ल्याएर र प्रदेशसभा २ बाट कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे १६,८८२ मत प्राप्त गरी विजयी भएका छन् ।
उनीहरुले चुनाव प्रचार प्रसारका क्रममा मतदातालाई दिएको आश्वासन बालुवामा होइन, ढुंगामा कोरिएको अक्षर बनेर बसेको छ । जित्नेले त्यसलाई बालुवामा, पानीमा लेखिएको अक्षर हो भनेर सोच्ने दुश्प्रयास नगरुन् । चुनावमा नेताले यस्ता आश्वासन बाँडिहाल्छन् भनेर पुरातन नेताले झैँ सामान्य रुपमा नसोचिदियून् ।
मतदातामा नयाँ सोच, नयाँ अवधारणा, नयाँ अभ्यास, नयाँ आँट(साहस संचित रहेको यो चुनावमा देखिएको छ । त्यसैले परिवर्तित समयलाई हृदयंगम गरी नयाँ सोच र जोशका साथ काम गरुन् । शुभकामना ।




