| सोमवार, कार्तिक २३, २०८३

मतदानकेन्द्र निर्धारणमा किन कञ्जुस्याईँ

आम निर्वाचन २०७९ को मतदान कार्यक्रम यही मंसीर ४ गते आइतबार बिहान सातबजेदेखि सुरु हुँदैछ । गोरखामा मतदानका लागि २२२ मतदान केन्द्रमा र ३१७ मतदानस्थल निर्धारण गरिएका छन् ।

निर्वाचनको तयारी भइरहँदा जिल्ला मतदानकेन्द्र निर्धारण समितिले यसबर्षको निर्वाचनका लागि मतदानकेन्द्र थपघट तथा हेरफेर गरेको थियो । हरेक पालिकाका जनप्रतिनिधिसंगको संयुक्त बैठकले मतदान केन्द्र सार्ने, थप्ने, घटाउने गरेको हो । सम्बन्धित पालिकाका जनप्रतिनिधिको सिफारिसमा मतदानकेन्द्र निर्धारण गर्दा पनि मतदातालाई चारघण्टासम्म हिड्नुपर्ने स्थानमा मतदानकेन्द्र बनाइयो ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ को समर आधारभूत विद्यालय मतदानकेन्द्रमा जम्मा ३४ जना मतदाता रहेको ठाउँमा मतदानकेन्द्र बनाइयो । डोल्पाको से(फोक्सुण्डो गाउँपालिका ६ को वडा कार्यालयमा पनि जम्मा ३४ जना मतदाता रहेको ठाउँमा मतदानकेन्द्र निर्धारण गरियो ।

फेरि मुस्ताङकै बारागुङ मुक्तिक्षेत्र ५ को हिमाली आधारभूत विद्यालय मतदानकेन्द्र जम्मा ३५ जना मतदाताका लागि निर्धारण गरियो । मुस्ताङकै लोमान्थाङ २ मा सम्जुङ आधारभूत विद्यालयमा ६० जना मतदाताका लागि मतदानकेन्द्र बनाइयो । ताप्लेजुङको फक्ताङलुङ ७ मा याङ्मा मतदानकेन्द्र पनि जम्मा ६१ जना मतदाताका लागि बनाइएको छ ।

मुस्ताङकै बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ को अरनिको आधारभूत विद्यालय मतदानकेन्द्र ६२ जना मतदाताका लागि र सोही पालिकाको वडा नं. १ स्थित लुप्रा आधारभूत विद्यालय मतदान केन्द्र ६३ जना मतदाताका लागि निर्धारण गरियो । यस्तो उदाहण देशभर धेरै छन् । तर गोरखाका दुर्गम भेगका बासिन्दाका लागि पायक पर्ने गरी मतदानकेन्द्र निर्धारण गरिएन ।
चुमनुब्री ६ लोक्पाका २२ घरका मतदाता भोट हाल्न पहिरोको जोखिम छल्दै चारघण्टा पैदल हिँडेर सिप्चेत मतदानकेन्द्र पुग्नुपर्ने बाध्यता छ । धार्चे ३ लाक्पालका मतदाता दुङ्ला मतदानकेन्द्र पुग्न चारघण्टा पैदल हिँड्नुपर्छ । धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा मतदानकेन्द्र निर्धारण गरिएन ।

फलस्वरुप त्यहाँका ८० घरधुरीका मतदाता भोट हाल्न डेढघण्टाको उकालो हिँड्नुपर्ने बाध्यता छ । वडा नं. ७ ठाँटीका बासिन्दालाई उस्तै सकस छ । यस्तो उदाहरण गोरखामा धेरै छन् ।
यस्तो अबस्थालाई मध्यनजर गरी अबका चुनावमा सहज हुने गरी मतदान केन्द्र निर्धारण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्