| सोमवार, कार्तिक २३, २०८३

मौन अवधिको शानदार कार्यान्वयन गरौँ

आउँदो मंसीर ४ गतेबाट हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु हुदैछ । मतदानको दिनभन्दा ४८ घण्टाअघिदेखि मौन अवधि लागु हुने प्रावधान अनुसार गएको मध्यराति १२ बजेबाट मौन अवधि अर्थात चुनाव प्रचार प्रसार निषेधित अवधि सुरु भएको छ ।

त्यसपछि मध्यरातिबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउँदैनन् । साथै विद्युतीय वा प्रिण्टलाइनका सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन । सामाजिक सञ्जालहरुमार्फत पनि प्रचारप्रसार गर्न मनाही गरिएको हुन्छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९ को दफा २५ मा मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नको लागि मतदानको मिति भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मौन अवधि लागु गराउन निर्देशन दिइएको हुन्छ । उक्त निर्णय कार्यान्वयन गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिइएको हुन्छ ।

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । यस अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला र गोष्ठी आयोजना गर्न नपाउने निर्देशिकामा उल्लेख हुन्छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्द हुनेदेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुनसक्ने व्यवस्था छ । यस्तै मौन अवधिमा मदिरा बिक्रि वितरण, ओसारपसार तथा सेवनमा पनि रोक लगाइएको छ । यो अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न हुँदैन ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ(आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने व्यवस्था छ । एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइँदैन । यी आचार संहितालाई पूर्ण रुपमा कार्यान्वयन गरी निर्वाचनलाई मर्यादित बनाउन सबैको सतप्रयासको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्